काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान आमनेसामने हुने भएका छन्।

भारतले बिहीबार दोस्रो सेमिफाइनलमा श्रीलंकालाई १२४ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। भारतले दिएको १७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९.५ ओभरमा ४५ रनमै अलआउट भयो।

भारतका लागि जसप्रित बुमराहले पहिलो ओभरमै दुई विकेट लिएपछि श्रीलंकाको ब्याटिङ धराशायी हुन थालेको थियो। बुमराह, अक्षर पटेल र अभिषेक शर्माले समान दुई–दुई विकेट लिए। अभिषेकले श्रीलंकाको पारीका अन्तिम दुई बलमा लगातार विकेट लिए।

श्रीलंकाका नुआनिन्दु फर्नान्डोले सर्वाधिक १५ रन बनाए। उसका पाँच ब्याटरले खाता खोल्न सकेनन्।

त्यसअघि निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६९ रन बनाएको थियो। भारतका इशान किशनले अविजित ८० रन बनाए। उनले ४६ बलमा चार चौका र पाँच छक्का प्रहार गरे।

ओपनर वैभव सूर्यवंशीले २१ बलमा ६ चौका र दुई छक्कासहित ३८ रन बनाए। भारतका अभिषेक शर्मा र सञ्जु सामसन समान ७ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यरले १३ रन बनाए। श्रीलंकाका थारिन्दु रत्नायके र सहान आराचिगेले समान दुई विकेट लिए।

यसअघि पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अब भारत र पाकिस्तानबीच एसियाली खेलकुदको स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com