काठमाडौं । अभिनय, रङ्गमञ्च, टेलिभिजन तथा विज्ञापन क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि सक्रिय अमन श्रेष्ठ आफ्नै निर्माण कम्पनी जेकेएस इन्टरटेनमेन्टमार्फत नेपाली फिल्म निर्माणमा प्रवेश गरेका छन्। जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘द प्रोफेसनल गाइज’को शुक्रबार एक भिडियोमार्फत घोषणा गरिएको हो।
फिल्ममा अमन श्रेष्ठ निर्माता तथा सह–लेखकका रूपमा छन्। उनीसँगै मार्टिन भण्डारी र डार्विन श्रेष्ठले लेखन तथा निर्देशन गर्नेछन्। अमन श्रेष्ठसँगको सहकार्यमा निर्माण हुन लागेको यो फिल्मले नेपाली चलचित्रमा नयाँ पुस्ताको सिर्जनात्मक ऊर्जा र फरक शैली प्रस्तुत गर्ने निर्माण पक्षको अपेक्षा छ।
अभिनयमा लामो समयदेखि सक्रिय अमनले रङ्गमञ्च, टेलिभिजन र चलचित्रसँगै विभिन्न टेलिभिजन विज्ञापनमा समेत काम गरिसकेका छन्। उनी अभिनयसँगै लेखन, विज्ञापन निर्देशन तथा टेलिभिजन कार्यक्रम निर्माणमा पनि सक्रिय छन्। उनले कान्तिपुर टेलिभिजनमा टेलिभिजन कार्यक्रम निर्माता भएर समेत काम गरेका छन्।
अभिनयलाई थप निखार्न अमनले भारतको मुम्बईस्थित अनुपम खेरको फिल्म स्कुलमा समेत प्रशिक्षण लिएका छन्। नेपालमा सर्वनाम थिएटरसँग आबद्ध भएर रङ्गमञ्चमा सक्रिय रहँदा उनी उत्कृष्ट थिएटर विद्यार्थीका रूपमा समेत चिनिएका थिए।
‘नयाँ ऊर्जा, नयाँ नियम, प्रोफेसनल गाइज आउँदैछन्’ भन्ने स्लोगनसहित घोषणा गरिएको फिल्मको भिडियो रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा निर्देशकको अघिल्लो फिल्म नै रिलिज हुन नसकेको प्रसंगलगायतका विषय समेटिएकाले फिल्म हास्यप्रधान तथा मनोरञ्जनात्मक हुने संकेत देखिन्छ।
‘द प्रोफेसनल गाइज’ मार्टिन भण्डारी र डार्विन श्रेष्ठको दोस्रो सहकार्य हो। उनीहरूले यसअघि सन् २०२२ मा ‘यार्सा : द मिस्टिकल स्टोन’ निर्माण गरेका थिए, जुन हालसम्म प्रदर्शनमा आउन सकेको छैन।
अमन श्रेष्ठ र डार्विन श्रेष्ठ निर्माता रहेको फिल्ममा मार्टिन भण्डारी सह–निर्माता तथा अमन श्रेष्ठ सह–लेखक र क्रिएटिभ डाइरेक्टरका रूपमा छन्।
जेकेएस इन्टरटेनमेन्टमार्फत पहिलोपटक फिल्म निर्माणमा होमिएका अमनको लक्ष्य अनुभवी तथा प्रतिभाशाली सिर्जनात्मक टिमसँग सहकार्य गर्दै नेपाली चलचित्र क्षेत्रमा अर्थपूर्ण र सम्झनलायक काम प्रस्तुत गर्नु रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मका कलाकार, प्रदर्शन मिति तथा विधाबारे दसैंपछि आयोजना हुने एक कार्यक्रममार्फत औपचारिक जानकारी दिइनेछ।
भिडियोः
प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया