काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच गोप्य भेटवार्ता भएको छ।
स्रोतका अनुसार, मंसिर ५ गते बूढानीलकण्ठ नगरपालिका–६, इटालीटारस्थित रास्वपा सभापति लामिछानेको निवासमा चिनियाँ राजदूत माओमिङ र लामिछानेबीच १ घण्टा ४३ मिनेट लामो संवाद भएको थियो। दिउँसो २ बजेर ४३ मिनेटमा सुरु भएको भेटवार्ता ४ बजेर २६ मिनेटमा सम्पन्न भएको थियो।
प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जानुअघि भएको यो भेटलाई समय र सन्दर्भका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी, नेपालको आन्तरिक राजनीतिक नेतृत्वसँग चिनियाँ कूटनीतिक प्रतिनिधिको प्रत्यक्ष संवाद र त्यसको समयले राजनीतिक वृत्तमा चासो बढाएको छ।
चिनियाँ राजदूत माओमिङले लामिछानेको निवासमै पुगेर गरेको भेटवार्ताको एजेन्डा भने सार्वजनिक भएको छैन।प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेका बेला चिनियाँ राजदूतको गोप्य राजनीतिक भेटवार्ताको विषयले चर्चा पाएको छ।
नेपाल भौगोलिक तथा रणनीतिक रूपमा भारत र चीन दुवैका लागि महत्त्वपूर्ण छिमेकी मुलुक हो। यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राजदूत र रास्वपा सभापतिबीच भएको लामो गोप्य भेटले नेपालको छिमेक सम्बन्ध र कूटनीतिक प्राथमिकताबारे थप चासो सिर्जना गरेको छ।
प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार













प्रतिक्रिया