काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि आइतबार दिउँसो प्रस्थान गर्दैछन्। तर महत्त्वपूर्ण कूटनीतिक भ्रमणमा जानुअघि उनले राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका नेताहरूसँग परामर्श नगरेपछि उनको कार्यशैलीमाथि प्रश्न उठेको छ।

विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई भेटेर भ्रमणको तयारी, एजेन्डा र राष्ट्रिय हितका विषयमा जानकारी गराउने अभ्यास रहँदै आएको थियो। तर प्रधानमन्त्री शाहले यसपटक उक्त परम्परालाई निरन्तरता नदिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई भेटेर ब्रिफिङ नगरेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले पुष्टि गरेका छन्।

प्रधानमन्त्री शाहले यसअघि संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाँदासमेत राष्ट्रपतिलाई भ्रमणबारे जानकारी गराएका थिएनन्।

विदेश भ्रमणअघि पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने अभ्यासलाई पनि प्रधानमन्त्री शाहले यसपटक निरन्तरता दिएका छैनन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए। तर शाहले पूर्वप्रधानमन्त्रीहरूसँग मात्र नभई प्रमुख राजनीतिक दलहरूसँग समेत परामर्श नगरेको पाइएको छ।

 

प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com