काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट झन्डै २२ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकले सुन तस्करीका लागि घर नै भाडामा लिएर प्रशोधन गर्ने गरेको खुलेको छ।

प्रहरीका अनुसार उनीहरूले सुन प्रशोधन गर्ने प्रयोजनका लागि मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी घर लिएका थिए। चार महिनाका लागि अग्रिम भाडाबापत १३ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीले बिहीबार उक्त घरमा छापा मारेर २१ किलो ७५०.६८ ग्राम सुनसहित चिनियाँ नागरिक हान फेई, झोउ लङछिङ र सु क्यानलाई पक्राउ गरेको थियो। बरामद सुनको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका तीनै जना चीनको ग्वाङ्झाउमा बस्ने झेन जियाको निर्देशनमा काम गर्थे। नेपालमा सुन कहाँ पुर्‍याउने र कसलाई बुझाउने भन्ने निर्देशन झेनबाट आउने गरेको प्रहरीको भनाइ छ।

अनुसन्धानका क्रममा उनीहरूले सुनलाई अर्धठोस अवस्थामा ल्याएर भाडामा लिएको घरमा प्रशोधन गर्ने गरेको खुलेको छ। उक्त घरमा विभिन्न मेसिन र रसायन प्रयोग गरी सुनलाई बिस्कुटको आकारमा ढाल्ने गरिएको प्रहरीको भनाइ छ।

सुन प्रशोधनका लागि आवश्यक उपकरण र रसायनसमेत घरभित्रै राखिएको पाइएको छ। यसले उक्त घरलाई सुन प्रशोधन गर्ने प्रयोजनमा प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद सुनको स्रोत, नेपालमा त्यसको कारोबार तथा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com