कपिलवस्तु । कपिलवस्तुमा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म लागूऔषध कारोबारसम्बन्धी १५ मुद्दा दर्ता भएका छन् । यस अवधिमा २३ पुरुष र सात महिलासहित ३० जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार सो अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइन, पाँच किलो २२५ ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम र १३० ग्राम गाँजा बरामद गरिएको छ । यस्तै, २० वटा नाइट्राभेट ट्याब्लेट, आठ वटा स्पास्मो र एक बोतल कोडिन सिरप पनि बरामद भएको छ ।
यसैबीच, प्रहरीले शिवराज नगरपालिका–२ हल्लानगरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २३ वर्षीया अस्मिता बोहरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बोहराको घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार












प्रतिक्रिया