काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जीवित गणेश र भैरवका लागि छुट्टै निवास निर्माणले काठमाडौंको मौलिक संस्कृति तथा जीवित सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताएकी छन्।
शनिबार हनुमानढोका दरबार क्षेत्रमा आयोजित नयाँ भवनको शिलान्यास कार्यक्रममा बोल्दै डंगोलले जीवित देवी कुमारीका लागि जस्तै गणेश र भैरवका लागि पनि उपयुक्त र सम्मानजनक निवासको आवश्यकता रहेको बताइन्।
उनका अनुसार इन्द्रजात्रालगायत काठमाडौंका प्रमुख सांस्कृतिक पर्वमा जीवित देवीदेवताको रथयात्रा गर्ने परम्परा रहिआएको छ। यस्तो ऐतिहासिक तथा धार्मिक परम्पराको निरन्तरताका लागि गणेश र भैरवको गरिमाअनुसारको आवास निर्माण आवश्यक रहेको उनको भनाइ छ।
डंगोलले भवन निर्माणको प्रक्रिया सहज रूपमा अघि नबढेको पनि बताइन्। पुरानो संरचना हटाउनेदेखि विभिन्न प्रशासनिक प्रक्रिया पूरा गर्न तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्न लामो समय लागेको उनले जानकारी दिइन्।
यस कार्यलाई सफल बनाउन पूर्व गणेश र भैरवका पुजारी, अग्रज तथा सरोकारवालाको महत्वपूर्ण योगदान रहेको उनले उल्लेख गरिन्। विभिन्न समयमा राजनीतिक र सांस्कृतिक परिवर्तन भए पनि गणेश र भैरवका लागि छुट्टै निवास निर्माणको आवश्यकता निरन्तर उठ्दै आएको उनको भनाइ छ।
‘हनुमानढोका दरबार क्षेत्रमा जीवित देवी कुमारीसँगै श्री गणेश र श्री भैरवका लागि पनि उपयुक्त निवास आवश्यक छ,’ डंगोलले भनिन्।
उनले नयाँ भवन निर्माणले आवासको व्यवस्था मात्र नगरी पुस्तौंदेखि चल्दै आएको धार्मिक तथा सांस्कृतिक परम्परालाई जीवन्त राख्नसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
विशेषगरी इन्द्रजात्रासँग जोडिएका धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नयाँ संरचनाले जीवित सम्पदाको संरक्षण र संवर्द्धन गर्नुका साथै हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार













प्रतिक्रिया