काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटमा परेको भन्दै सबै वामपन्थी शक्तिलाई एकताबद्ध हुन आह्वान गरेका छन् । उनले विगतका मतभेद र आग्रह–पूर्वाग्रह त्यागेर बृहत् कम्युनिस्ट एकताको अभियानमा सहभागी हुन शीर्ष नेताहरूलाई आग्रह गरेका हुन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्यलगायत विगतमा सहकार्य गरेका नेताहरूलाई एकताको अभियानमा जुट्न अपिल गरे ।
‘देश सङ्कटमा छ । त्यसैले सबैखाले आग्रह र पूर्वाग्रहबाट मुक्त भएर एकताको यो महाअभियानमा जुटौँ,’ उनले भने ।
सम्बोधनका क्रममा प्रचण्डले शान्ति प्रक्रियामा आएदेखि नै तत्कालीन नेकपा एमालेसँग पार्टी एकताका लागि पटक–पटक पहल गरेको स्मरण गरे । संविधान जारी भएपछि जनताले कम्युनिस्ट शक्तिबाट ठूलो अपेक्षा राखेकाले आफू पुनः एकताको प्रस्ताव लिएर केपी शर्मा ओलीकहाँ पुगेको उनले बताए ।
एकता सहज नहुने देखेपछि ओलीलाई नै प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्मरण गर्दै उनले सुरुमा चुनावी सहकार्य र निर्वाचनपछि पार्टी एकता गर्ने सहमति बनेको उल्लेख गरे । त्यसपछि भएको निर्वाचनमा कम्युनिस्ट शक्तिले झन्डै दुईतिहाइ जनमत प्राप्त गरेको उनको भनाइ थियो ।
त्यतिबेला प्राप्त जनमत सुशासन स्थापना र समाजवादको आधार तयार पार्ने ऐतिहासिक अवसर भए पनि त्यसलाई जोगाउन नसकिएको प्रचण्डले स्वीकार गरे ।
विगतको एकता असफल भए पनि त्यसबाट निराश हुनुभन्दा पाठ सिकेर अघि बढ्नुपर्ने उनको धारणा थियो । देश र जनताको हितलाई केन्द्रमा राखेर पुनः एकता र वामपन्थी ध्रुवीकरणको प्रयास थालिएको भन्दै उनले अहिलेको सहकार्य त्यसैको प्रारम्भ भएको स्पष्ट पारे ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार













प्रतिक्रिया