सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहको नेतृत्वमा जारी मेची–महाकाली पदयात्रा सिरहा पुगेको छ । सप्तरीको कार्यक्रम सम्पन्न गर्दै टोली सिरहा प्रवेश गरेको हो ।
मेचीदेखि महाकालीसम्मका नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूका समस्या, गुनासा तथा अपेक्षा बुझ्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको सिंहले बताएका छन् ।
अभियानका क्रममा विभिन्न स्थानमा स्थानीय नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूका धारणा र समस्याबारे जानकारी लिने काम भइरहेको छ । नागरिकका वास्तविक आवश्यकता र आवाजलाई नजिकबाट बुझेर सम्बन्धित मुद्दालाई गम्भीरतापूर्वक उठाउनु पदयात्राको मुख्य उद्देश्य रहेको सिंहको भनाइ छ ।
सप्तरीमा सम्पन्न कार्यक्रमपछि सांसद सिंहले अभियानलाई साथ, समर्थन र हौसला प्रदान गर्ने स्थानीयवासी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
सिरहामा पनि स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट र संवादलाई निरन्तरता दिइने जनाइएको छ ।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया