काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै देशभक्त र लोकतन्त्रवादी शक्तिहरूलाई समेत एउटै अभियानमा जोड्न आह्वान गरेका छन् ।

नेकपासँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले विगतका कमजोरीबाट पाठ सिकेर अहंकार त्याग्दै अघि बढ्नुपर्ने बताए । नेतृत्वमा देखिएको अहंकारकै परिणामस्वरूप जेनजी आन्दोलनको अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले त्यस्ता गल्ती फेरि दोहोरिन नदिन सबै सचेत हुनुपर्ने धारणा राखे ।

‘हामी कसैले पनि अहंकार नगरौँ । हाम्रो अहंकार पोहोर साल चकनाचुर भएको छ । त्यसको परिणाम हामीले भोगिसकेका छौँ । इतिहासबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

प्रचण्डले हाल एकताबद्ध भएका दलहरूको संख्या २७ पुगेको उल्लेख गर्दै आगामी दिनमा थप चार–पाँच दललाई समेत समेट्न सके सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न सकिने विश्वास व्यक्त गरे ।

शान्ति सम्झौतादेखि नै एकताका लागि पहल गर्दै आएका दल र नेताहरूलाई स्वीकार गरेर अघि बढ्न उनले अन्य कम्युनिष्ट शक्तिहरूलाई आग्रह गरे । आफूहरू नेतृत्व लिन तयार रहेको र अरूले नेतृत्व गरे पनि साथ दिन तयार रहेको उनको भनाइ थियो ।

‘या त तपाईंहरू नेतृत्व गर्नुस्, अगाडि आउनुस् र सम्पूर्ण कम्युनिष्ट आन्दोलन, देशभक्त तथा नेपालीलाई एकताबद्ध गर्ने आँट गर्नुस् । हामी साथ दिन तयार छौँ,’ उनले भने ।

देशलाई थप अस्तव्यस्त बनाउने गतिविधि नगर्न सबै राजनीतिक दललाई आग्रह गर्दै प्रचण्डले विगतका कमजोरी दोहोर्‍याउनुको सट्टा सकारात्मक परिवर्तनका लागि अघि बढ्नुपर्ने बताए । कम्युनिष्टहरू निराश नभई आशावादी हुनुपर्ने उनको भनाइ थियो ।

‘कम्युनिष्टहरू आशावादी हुन्छन् । कम्युनिष्टहरूले उज्यालोतिर हेर्छन्, अँध्यारोतिर होइन,’ उनले भने ।

उनले नेपालको स्वाधीनता र राष्ट्रिय एकता जोगाउन सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए । देशको अवस्था गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले राजनीतिक दलहरू संयमित हुनुपर्ने र गालीगलौज तथा अमर्यादित भाषाबाट टाढा रहनुपर्ने धारणा राखे ।

‘नेपालै नरहे के होला ? हामी त्यस्तै ठाउँमा पुगिरहेका छौँ । देश आज यस्तो अवस्थामा पुगेको छ,’ उनले भने, ‘अरूले जस्तो गालीगलौज र गलत भाषाको प्रयोग हामीले गरेका छैनौँ र गर्दैनौँ पनि । यतिबेला देशमा विवेक हराएको छ ।’

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com