काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको देशको जेठो औद्योगिक प्रतिष्ठान विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा मिललाई आधुनिक प्रविधिसहित सञ्चालन गर्ने उद्देश्यले रणनीतिक लगानीकर्ताका लागि आशयपत्र (ईओआई) आह्वान गरिएको हो।
मन्त्रालयको समन्वयमा विराटनगर जुट मिल लिमिटेडले बुधबार (२०८३ मंसिर ९ गते) सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत उद्योग सञ्चालनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र माग गरेको छ।
जारी सूचनाअनुसार मिलको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि इच्छुक तथा अनुभवी लगानीकर्ताले ३५ दिनभित्र आशयपत्र पेस गर्नुपर्नेछ।
प्रस्तावित योजनाअनुसार मिल पुनः सञ्चालनमा आएपछि दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको छ। पूर्ण क्षमतामा उद्योग सञ्चालन हुँदा ५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने प्रक्षेपण गरिएको छ।
त्यस्तै, विराटनगर र दमकमा रहेका मिलका ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारी अवधारणामा उपलब्ध गराउने योजना छ।
लगानी आकर्षित गर्न मिलका पुराना वित्तीय, प्रशासनिक तथा श्रमसम्बन्धी दायित्वलाई नयाँ लगानीबाट अलग राख्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसअनुसार पुराना दायित्वको व्यवस्थापन मिल प्रशासनले सरकारी सहयोगमा गर्ने र नयाँ लगानीकर्तालाई विगतका ऋण तथा दायित्वको भार नपर्ने व्यवस्था मिलाइने उल्लेख छ।
लगानीकर्ताले औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार मेसिनरी आयातमा भन्सार सहुलियत, लाभांश फिर्ता लैजान पाउने सुविधा तथा प्रारम्भिक वर्षहरूमा लिज भाडामा सहुलियत पाउने प्रस्तावसमेत गरिएको छ।
सन् १९३६ अर्थात् वि.सं. १९९३ मा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो आधुनिक उद्योगका रूपमा परिचित छ। राजनीतिक अस्थिरता र व्यवस्थापकीय समस्याका कारण पटक–पटक बन्द हुँदै आएको यो उद्योग पुनः सञ्चालनमा ल्याउने प्रयास यसअघि पनि हुँदै आएको थियो।
उद्योगमन्त्री दीपककुमार साहले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बन्द उद्योगहरूको पुनरुत्थानलाई प्राथमिकतामा राख्दै जुट मिल सञ्चालनको प्रक्रिया अघि बढाएको बताइएको छ।
आशयपत्र पेस गर्ने समयसीमा समाप्त भएको एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने र त्यसपछि उद्योग सञ्चालनको प्रक्रिया तीव्र बनाउने योजना रहेको छ।
प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार













प्रतिक्रिया