काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्न नसक्ने बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्यमान्यता तथा मर्मविपरीत अघि बढ्न खोजेको आरोप लगाए । सरकारको पछिल्लो कार्यशैली देश र जनताका लागि चिन्ताजनक रहेको उनको टिप्पणी छ ।

दिनभर कांग्रेस सभापति थापालाई पक्राउ गर्ने चर्चा चले पनि पक्राउ नगरिएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘सरकार बिल्कुल संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य, मान्यता र मर्मभन्दा बाहिर जान खोजिरहेको छ । यो देशका लागि पनि र सबै जनताका लागि पनि निकै चिन्ताको विषय हो,’ उनले भने, ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन ।’

यसैगरी, प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाएको विषयमा पनि सञ्चारकर्मीले उनीसँग प्रश्न गरेका थिए ।

जवाफमा प्रचण्डले आईजीपीलाई पदबाट हटाउने सरकारको निर्णय उचित थियो वा थिएन भन्नेबारे तत्काल टिप्पणी नगर्ने बताए । उक्त विषय अदालतमा पुगिसकेकाले अब न्यायालयबाटै निर्णय आउने उनको भनाइ थियो ।

‘आईजीपीलाई हटाएको ठीक गर्‍यो सरकारले ? अब त्यो कुरा त अदालतमा गइसकेको छ, अदालतले बोल्छ,’ उनले भने ।

सरकारका पछिल्ला निर्णय र कार्यशैलीप्रति असन्तुष्टि जनाएका प्रचण्डले गगन थापाको सम्भावित गिरफ्तारी र आईजीपीको पदमुक्तिसम्बन्धी विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com