काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यका संवैधानिक तथा संस्थागत संरचनालाई कमजोर बनाएर लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका छन्। प्रेस, प्रहरी, अदालत, सुरक्षा निकायदेखि निजी क्षेत्रसम्मका संस्थाहरू स्वतन्त्र र बलियो हुनुपर्ने उनको भनाइ छ।

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले राज्यका संस्थाहरूमाथि गरिने हल्का टिप्पणी र तिनलाई कमजोर बनाउने गतिविधिले समग्र राज्य व्यवस्था प्रभावित हुने बताए। विशेषगरी न्यायालयको गरिमामाथि प्रश्न उठाउँदा त्यसले न्याय प्रणालीप्रतिको विश्वास कमजोर बनाउन सक्ने उनले उल्लेख गरे।

अदालत, प्रहरी, सुरक्षा निकाय, प्रेस, निजी क्षेत्र, पेशागत संगठन र वैदेशिक सम्बन्धलगायतका क्षेत्र कमजोर भए मुलुक नै कमजोर हुने उनको तर्क थियो। संस्थाहरू कमजोर हुँदै जाँदा लोकतन्त्रसमेत कमजोर बन्ने भन्दै उनले यस विषयमा सबै पक्ष सचेत हुनुपर्ने बताए।

लामिछानेले राज्यका निकायलाई राजनीतिक तथा अन्य कुनै पनि प्रकारको हस्तक्षेपबिना स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा जोड दिए। प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सक्षम बनाएर अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

उनले अपराध अनुसन्धानमा हतारमा पक्राउ गर्नेभन्दा पहिले प्रमाण र अनुसन्धानलाई बलियो बनाउनुपर्ने बताए। अनुसन्धान निष्पक्ष र प्रमाणमा आधारित भए भ्रष्टाचारमा संलग्न व्यक्तिलाई अदालतबाट उन्मुक्ति पाउने अवस्था नरहने उनले उल्लेख गरे।

‘थुन्ने र सुन्ने कुरा होइन, पहिला सुन्नुपर्छ र सुनिसकेपछि अनुसन्धान राम्रोसँग गरिसकेपछि कुनै भ्रष्टलाई पक्राउ गर्दा अनुसन्धान यति बलियो होस् कि त्यो अदालतबाट फर्केर घर होइन, जेल जाओस्,’ उनले भने।

निर्वाचनका क्रममा रास्वपाले भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि त्यसको अर्थ मनलाग्दी पक्राउ र जेल हाल्ने नभएको उनले स्पष्ट पारे। विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्ष अनुसन्धानमार्फत मात्रै भ्रष्टाचार तथा बेथितिको अन्त्य गर्न सकिने उनको भनाइ थियो।

लामिछानेले भ्रष्टाचारमा संलग्न व्यक्तिमा राज्यको कानुनी कारबाहीको त्रास र आम नागरिकमा राज्यप्रतिको भरोसा तथा आशा हुनुपर्ने बताए। सर्वसाधारणमै डर र त्रास सिर्जना हुने अवस्था सुशासनको सही बाटो हुन नसक्ने उनले टिप्पणी गरे।

आफू पार्टी सञ्चालनलाई व्यवस्थित बनाउन, सरकारका कामकारबाही सहज रूपमा अघि बढाउन र आवश्यकताअनुसार सुझाव दिन जिम्मेवारीमा रहेको पनि उनले बताए। रास्वपाले सरकारलाई नागरिकको सेवामा काम गर्न कुनै अवरोध सिर्जना नगर्ने उनको स्पष्टोक्ति थियो।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com