काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीसहित पिछडिएका क्षेत्रको विकास र समृद्धिका लागि आफू नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले पूर्वाधार निर्माणको आधार तयार गरेको दाबी गरेका छन् ।
लेखक डा. दीपेन्द्र रोकाय र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तकको विमोचन गर्दै पूर्वप्रधानमन्त्री दाहालले विभेद र उपेक्षामा परेका वर्ग तथा क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउन आफू प्रधानमन्त्री हुँदा विभिन्न रणनीतिक आयोजना अघि बढाइएको बताए ।
उनका अनुसार सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने उद्देश्य पनि कर्णालीजस्ता पिछडिएका क्षेत्रको विकासलाई गति दिनु थियो । आफू नेतृत्वको सरकारले कर्णालीको समृद्धिका लागि दीर्घकालीन विकासको खाका तयार गरेको उनको दाबी छ ।
दाहालले पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण करिडोर निर्माणले मुलुकको भौगोलिक तथा आर्थिक एकीकरणमा योगदान पुर्याएको उल्लेख गरे । यी सडक सञ्जालका कारण कर्णालीका उत्पादन अन्य जिल्लासम्म पुर्याउन र तराईका कृषि उपज दुर्गम क्षेत्रमा भित्र्याउन सहज भएको उनको भनाइ थियो ।
‘पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग तथा उत्तर–दक्षिण करिडोर निर्माणले नेपाललाई थप एकताबद्ध बनाएको छ,’ उनले भने, ‘अब कर्णालीका स्याउ बाहिरी जिल्लामा पुर्याउन र तराईका अन्नबाली कर्णाली पुर्याउन अप्ठ्यारो छैन।’
उनले रणनीतिक सोच र योजनाबद्ध नेतृत्वबिना यस्ता विकास आयोजना अघि बढाउन सम्भव नहुने पनि बताए ।
दाहालले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले कर्णालीको बृहत्तर विकासका लागि १० हजार ८०० मेगावाट क्षमताको कर्णाली–चिसापानी बहुउद्देश्यीय आयोजना तथा तिला–१ र तिला–२ जलविद्युत् आयोजना अघि बढाउन पहल गरेको जानकारी दिए ।
त्यसैगरी, हिल्सा–सुर्खेत रणनीतिक सडक निर्माणलाई चीनको सहयोगमा अघि बढाउने विषयमा आफू नेतृत्वको सरकारका पालामै सैद्धान्तिक समझदारी भएको उनले स्मरण गरे ।
प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार













प्रतिक्रिया