जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले यस वर्षको छठ पर्व जनकपुरधाममै मनाउने भएका छन्। उनीहरूले स्थानीय सर्वसाधारणको घरमा बसेर छठका सम्पूर्ण धार्मिक विधि पूरा गर्ने तयारी गरेका छन्।

रास्वपाका नेता एवं सांसद मनिष झाले बिहीबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछाने दम्पतीले छठका सबै विधि जनकपुरमै सम्पन्न गर्ने जानकारी दिए।

उनका अनुसार लामिछाने दम्पती पार्टीमा आबद्ध व्यक्ति, नजिकका चिनजान वा आफन्तको घरमा नभई कुनै सर्वसाधारण स्थानीयको घरमा बस्नेछन्।

उनीहरूले गंगासागर पोखरीमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिनेलगायतका धार्मिक विधि पूरा गर्नेछन्। घाटमा हुने भीडलाई ध्यानमा राख्दै उनीहरू मुख्य भीडभन्दा केही समयअघि वा पछि उपस्थित हुने सांसद झाले बताए।

जनकपुर बसाइका क्रममा लामिछानेको राजनीतिक भेटघाट तथा औपचारिक कार्यक्रम न्यून हुने र छठ पर्वमै बढी केन्द्रित रहने उनले स्पष्ट पारे।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह पनि छठ मनाउन जनकपुरधाम आउने चर्चा भए पनि उनको आगमन निश्चित भइसकेको छैन। सांसद झाले प्रधानमन्त्री आउने सम्भावना कम रहेको र यसबारे शुक्रबार बिहान मात्र यकिन जानकारी दिन सकिने बताए।

छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सजाउने काम अन्तिम चरणमा पुगेको छ। चार दिनसम्म मनाइने पर्वअन्तर्गत शुक्रबार नहाय खाय, शनिबार खरना र आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने मुख्य विधि सम्पन्न हुनेछ।

प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com