काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनस्थित ऐतिहासिक सार्वजनिक गल्फ कोर्सलाई विस्तार तथा पुनःनिर्माण गर्ने योजनामा अदालतले तत्कालका लागि रोक लगाएको छ।

ह्वाइट हाउसबाट करिब दुई माइल टाढा रहेको इस्ट पोटोम्याक गल्फ लिङ्क्समा निर्माण कार्य सुरु गर्ने तयारी भइरहेका बेला अदालतको आदेश आएको हो। उक्त गल्फ कोर्स आइतबारदेखि १५ महिनाका लागि बन्द गरेर पुनःनिर्माण गर्ने ट्रम्प प्रशासनको योजना थियो।

पोटोम्याक नदी किनारमा रहेको यो सार्वजनिक गल्फ कोर्समा सर्वसाधारणले पनि खेल्न पाउँछन्। तर प्रस्तावित परियोजनाले यसको परम्परागत स्वरूप परिवर्तन गर्ने र खेल शुल्क महँगो बनाएर सर्वसाधारणको पहुँच सीमित पार्ने भन्दै स्थानीय बासिन्दा तथा संरक्षणकर्मीले विरोध गर्दै आएका छन्। ट्रम्पले भने यी आशङ्कालाई अस्वीकार गरेका छन्।

डिसी प्रिजर्भेसन लिग र दुई स्थानीय गल्फ खेलाडीले गत फेब्रुअरीमा परियोजनाविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका थिए। गल्फ कोर्स बन्द गरी निर्माण सुरु गर्दा आफूहरू र सर्वसाधारणलाई अपूरणीय क्षति पुग्ने उनीहरूको दाबी छ।

शुक्रबार करिब पाँच घण्टासम्म चलेको सुनुवाइमा सरकारी पक्षले सुरक्षा कारण देखाउँदै इस्ट पोटोम्याक पार्क बन्द गर्नुपर्ने तर्क गरेको थियो। उक्त पार्कमा तीनवटा गल्फ कोर्स, एउटा सानो गल्फ कोर्स, साइकल मार्ग तथा मनोरञ्जनका अन्य सुविधा छन्। सरकारी वकिलले पार्क सञ्चालन गरिरहेको नेसनल लिङ्क्स ट्रस्टसँगको सम्झौता आइतबार समाप्त हुन लागेको पनि बताएका थिए।

तर, न्यायाधीश एना रेयेसले प्रशासनको सुरक्षा सम्बन्धी तर्कमाथि प्रश्न उठाइन्। लामो समयसम्म सुरक्षा जोखिमको विषय नउठाइएको अवस्थामा अहिले पार्क बन्द गर्ने आधारका रूपमा त्यसलाई प्रयोग गर्न खोजिएको हुन सक्ने उनको आशङ्का थियो।

अदालतको आदेश आउनुअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै गल्फ कोर्सको मर्मतसम्भार छिटो र कम खर्चमा गर्ने आफ्नो योजनामा न्यायाधीशले अवरोध गरेको टिप्पणी गरेका थिए। उनले वासिङ्टन क्षेत्रका बासिन्दालाई गल्फ खेल्दा ५० प्रतिशत छुट दिने र उक्त स्थानलाई विशेष गल्फ कोर्सका रूपमा विकास गर्ने दाबीसमेत गरेका थिए।

यसैबीच, ट्रम्प प्रशासनका अन्य केही योजनाले पनि कानुनी चुनौती सामना गरिरहेका छन्। वासिङ्टनमा प्रस्तावित विशाल स्मारक द्वार र ह्वाइट हाउसमा निर्माण गर्न खोजिएको बलरूम योजनासमेत विवादमा छन्। हालै अर्को एक अदालतले स्मारक द्वार निर्माणमा १४ दिनका लागि रोक लगाएको थियो।

इस्ट पोटोम्याक गल्फ कोर्ससम्बन्धी मुद्दामा पनि अदालतले यसअघि तत्काल निर्माण रोक्ने मागमा निर्णय दिएको थिएन। तर, अक्टोबरमा पार्कका रूखहरू काटिएपछि न्यायाधीश रेयेसले प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन्। उनले सरकारी अधिकारी र वकिलहरूले नैतिक नियम उल्लंघन गरे वा अदालतलाई गलत जानकारी दिए भन्ने विषयमा छानबिन प्रक्रिया अघि बढाएकी छन्।

अमेरिकी न्याय विभागले न्यायाधीश रेयेसलाई मुद्दाको सुनुवाइबाट अलग गर्न माग गरे पनि उनले आफूलाई उक्त प्रक्रियाबाट अलग गरेकी छैनन्।

प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com