काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले स्थापनाकालदेखि हालसम्म नेपाल सरकारलाई कर तथा विभिन्न शुल्कबापत झण्डै ३ खर्ब ८० अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

दूरसञ्चार क्षेत्रमा लामो समयदेखि व्यावसायिक सेवा दिँदै आएको एनसेल नेपालको राजस्व संकलनमा ठूलो योगदान गर्ने निजी कम्पनीमध्ये एक हो । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै सरकारलाई कर तथा विभिन्न शुल्क शीर्षकमा कुल १७ अर्ब २८ करोड ५२ लाख ६ हजार ७ सय ३२ रुपैयाँ भुक्तानी गरेको छ । लेखापरीक्षण हुन बाँकी विवरणअनुसार कम्पनीले उक्त रकम विभिन्न कर, रोयल्टी, लाइसेन्स, फ्रिक्वेन्सी तथा अन्य शुल्कबापत बुझाएको हो ।

एनसेलले गरेको कुल भुक्तानीमध्ये सबैभन्दा ठूलो रकम लाइसेन्स नवीकरण, रोयल्टी र फ्रिक्वेन्सी शुल्कमा गएको देखिएको छ । कम्पनीले जीएसएम मोबाइल लाइसेन्स नवीकरण शुल्कको किस्ताबापत ३ अर्ब २९ करोड रुपैयाँ बुझाएको छ ।

त्यस्तै, भन्सार महसुलबापत १ अर्ब २ करोड रुपैयाँ, रोयल्टीबापत १ अर्ब २९ करोड रुपैयाँ र फ्रिक्वेन्सी शुल्कबापत १ अर्ब ९६ करोड रुपैयाँ सरकारलाई भुक्तानी गरेको छ । कम्पनीले बिक्रीमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) बापत २ अर्ब ६३ करोड रुपैयाँ तथा स्रोतमा कर कट्टीबापत १ अर्ब २ करोड रुपैयाँ बुझाएको जनाएको छ । यसबाहेक ग्रामीण दूरसञ्चार विकास कोषमा ६४ करोड ९६ लाख रुपैयाँ योगदान गरेको छ ।

एनसेलले स्थापनाकालदेखि गत भदौसम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा झण्डै ३ खर्ब ८० अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ । यसले नेपालको दूरसञ्चार क्षेत्रबाट राज्यले प्राप्त गर्दै आएको राजस्वमा एनसेलको उल्लेखनीय हिस्सेदारी रहेको देखाएको छ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com