काठमाडौं। बालबालिकामाथि हुने यौन शोषण, दुर्व्यवहार तथा हिंसा रोकथाम र पीडितको उपचार एवं पुनःस्थापनाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नोभेम्बर १८ मा विश्व बाल यौन शोषण रोकथाम दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ। राष्ट्रसङ्घको महासभाले सन् २०२२ नोभेम्बर ७ मा प्रस्ताव पारित गर्दै उक्त दिनलाई बालबालिकामाथि हुने यौन शोषण, दुर्व्यवहार तथा हिंसा रोकथाम र त्यसबाट प्रभावितको उपचार तथा पुनःस्थापनासम्बन्धी विश्व दिवसका रूपमा घोषणा गरेको थियो।
बालबालिकामाथि हुने यौन शोषण तथा दुर्व्यवहार मानव अधिकारको गम्भीर उल्लङ्घन हुनुका साथै सार्वजनिक स्वास्थ्यसँग जोडिएको संवेदनशील समस्या हो। यस्ता घटनाले बालबालिकाको शारीरिक, मानसिक तथा भावनात्मक विकासमा दीर्घकालीन नकारात्मक असर पार्न सक्छ।
यस दिवसले बालबालिकामाथि हुने यौन हिंसा र शोषण अन्त्य गर्न प्रभावकारी कदम चाल्न, पीडितलाई न्याय तथा उपचारको पहुँच सुनिश्चित गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँछ।
विशेषगरी पछिल्लो समय बढ्दो डिजिटल प्रयोगसँगै अनलाइन माध्यमबाट हुने यौन शोषण तथा दुर्व्यवहार नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ। बालबालिकालाई प्रत्यक्ष र अनलाइन दुवै माध्यमबाट हुने हिंसाबाट सुरक्षित राख्न जनचेतना विस्तार गर्नुका साथै पीडितमाथि लाग्ने सामाजिक लाञ्छना र विभेद अन्त्य गर्न राष्ट्रसङ्घले आह्वान गरेको छ।
यसैबीच, आज नोभेम्बर १८ देखि २४ सम्म विश्व रोगाणुरोधी प्रतिरोध सचेतना सप्ताह पनि मनाइँदैछ। ‘एक स्वास्थ्य, एक कार्यः एएमआर अहिले नै रोकौँ’ भन्ने नारासहित सुरु भएको अभियानले मानिस, पशुपक्षी, वनस्पति र वातावरणको स्वास्थ्यबीचको अन्तरसम्बन्धलाई ध्यानमा राख्दै रोगाणुरोधी प्रतिरोध नियन्त्रणका लागि सामूहिक प्रयासमा जोड दिएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार ब्याक्टेरिया, भाइरस, ढुसी तथा परजीवीमा परिवर्तन आउँदा तिनलाई नियन्त्रण गर्न प्रयोग गरिने औषधि प्रभावहीन हुने अवस्थालाई रोगाणुरोधी प्रतिरोध (एएमआर) भनिन्छ। यसको जोखिम बढ्दै जाँदा एन्टिबायोटिकलगायत औषधिले काम नगर्ने र सामान्य सङ्क्रमणको उपचारसमेत कठिन बन्न सक्ने खतरा रहन्छ।
एएमआर नियन्त्रणका लागि औषधिको उचित प्रयोग, सङ्क्रमण रोकथाम, सरसफाइ तथा सुरक्षित खाद्य प्रणालीको प्रवर्द्धन आवश्यक मानिन्छ। यसका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय क्षेत्रबीच समन्वय हुनुपर्नेमा विश्व स्वास्थ्य सङ्गठनले जोड दिँदै आएको छ।
एन्टिबायोटिक तथा अन्य रोगाणुरोधी औषधिप्रतिको बढ्दो प्रतिरोध नियन्त्रण गर्न विश्व स्वास्थ्य सङ्गठनको ६८औँ विश्व स्वास्थ्य सभाले सन् २०१५ मेमा विश्वव्यापी कार्ययोजना अनुमोदन गरेको थियो। उक्त योजनाले प्रभावकारी सञ्चार, शिक्षा र तालिममार्फत एएमआरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार













प्रतिक्रिया