काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गम्भीर आन्तरिक विवादमा फसेको दाबी गरेका छन्। पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत दैलेखमा आयोजित नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले रास्वपाभित्रको शक्ति संघर्षले राज्यका महत्वपूर्ण निकायसमेत प्रभावित भएको टिप्पणी गरे।
पुनका अनुसार सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच राज्यका विभिन्न निकायमा आफ्नो प्रभाव स्थापित गर्ने प्रतिस्पर्धा चलिरहेको छ। यही द्वन्द्वका कारण राज्यका संस्थाहरू कमजोर र अस्तव्यस्त बन्दै गएको तथा राष्ट्रियतासमेत प्रभावित भएको उनको आरोप थियो।
उनले रास्वपाभित्रको विवाद जुनसुकै बेला थप चर्किन सक्ने उल्लेख गर्दै प्रधानमन्त्री बालेनले लामिछानेलाई पक्राउ गर्न सक्ने वा लामिछानेले प्रधानमन्त्रीलाई पदबाट हटाउन सक्ने अवस्थासमेत आउन सक्ने दाबी गरे। सरकारको भारतप्रतिको नीतिप्रति पनि असन्तुष्टि जनाउँदै पुनले सरकार भारतसामु झुकेको आरोप लगाए।
प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार













प्रतिक्रिया