काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई पक्राउ गर्ने धम्की दिएको आरोप लगाएका छन्। उनले आफू, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने अभिव्यक्ति आउनु आपत्तिजनक भएको बताएका छन्।
पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) र गृहमन्त्रीबाटै शीर्ष नेताहरूलाई पक्राउ गर्ने आशयका अभिव्यक्ति सार्वजनिक हुनु गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरे।
राणाशासन, पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रविरुद्ध सङ्घर्ष गरेर आएका राजनीतिक नेतृत्वलाई सामान्य रूपमा नलिन चेतावनी दिँदै ओलीले प्रमाणका आधारमा दोषीमाथि कानुनी कारबाही गर्न कसैले नरोक्ने बताए। तर, पक्राउ गर्ने धम्की दिएर राजनीतिक वृत्तमा भय सिर्जना गर्ने काम स्वीकार्य नहुने उनको भनाइ थियो।
गृहमन्त्री सुदन गुरुङले विभिन्न फाइल खोलेर १०१ जनालाई पक्राउ गर्ने अभिव्यक्ति दिएको प्रसङ्ग उठाउँदै ओलीले सरकारलाई प्रमाण भए कारबाही गर्न चुनौती दिए।
‘राणाशासन, पञ्चायत र निरङ्कुश राजतन्त्रविरुद्ध लडेर आएका नेताहरूलाई छ महिने जागिरेले थुन्दिन्छु भन्दै ठट्टा गर्ने? प्रमाण भए गलत काम गर्ने जोकोहीलाई थुने हुन्छ, तर गैरजिम्मेवार अभिव्यक्ति दिएर मनोवैज्ञानिक आतङ्क नफैलाए हुन्छ। एमाले यस्ता हावादारी कुराबाट हल्लिँदैन,’ उनले भने।
यसैबीच, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माण प्रक्रियामाथि पनि ओलीले प्रश्न उठाएका छन्। चुनावमा प्रतिस्पर्धा गर्न सक्ने उम्मेदवार खोज्दै हिँडेर मात्रै राजनीतिक दल बलियो नबन्ने भन्दै उनले चुनाव लड्ने क्लब बनाएर पार्टी निर्माण नहुने टिप्पणी गरे।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ओलीले एमालेका नेता तथा कार्यकर्तालाई अहिलेदेखि नै सक्रियतापूर्वक अभियानमा जुट्न निर्देशन दिए। निर्वाचन सम्पन्न नभएसम्म विश्राम नगरी निरन्तर परिश्रम र संगठन विस्तारमा लाग्न उनले आग्रह गरे।
विगतमा विभिन्न शक्तिको घेराबन्दी र असंवैधानिक कदमका कारण एमाले सरकारबाट बाहिरिनुपरेको दाबी गर्दै ओलीले पार्टी पुनः सत्तामा फर्किने जिकिर गरे। एमाले कसैको कृपा वा आशीर्वादबाट नभई जनताको विश्वास र लामो राजनीतिक सङ्घर्षबाट स्थापित भएको उनको भनाइ थियो।
सामाजिक सञ्जालमा एमालेको भविष्यबारे भइरहेका टिप्पणीप्रति व्यङ्ग्य गर्दै ओलीले पार्टी फेरि सरकारमा पुग्ने दाबीसमेत गरे। उनले एमाले सत्तामा फर्किँदा कुनै वैकल्पिक बाटो नभई जनताको समर्थनसहित मूल ढोकाबाटै सिंहदरबार प्रवेश गर्ने बताए।
‘केही दिन फेसबुकमा आलोचना लेख्दै गर, हेर्दाहेर्दै एमाले फेरि सरकारमा पुग्नेछ। हामी जस्केला, झ्याल वा भेन्टिलेटरबाट होइन, मूल ढोकाबाटै सिंहदरबार पस्नेछौँ र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेछौँ,’ ओलीले भने।
प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार













प्रतिक्रिया