एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सहकार्यले चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ र दिशा प्रदान गरेको बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटवार्ताका क्रममा सीले दुई देशबीचको सम्बन्धलाई आपसी सम्मान, समानता र पारस्परिक लाभका आधारमा अघि बढाउने नयाँ समझदारी बनेको बताएका हुन्।
रोयटर्सका अनुसार सीले बेइजिङ र वासिङ्टनबीच रणनीतिक स्थिरता कायम राख्दै रचनात्मक सम्बन्ध विकास गर्ने नयाँ आधार तयार भएको उल्लेख गरे। दुई शक्तिशाली राष्ट्रबीचको सम्बन्धलाई स्थिर र सहकार्यपूर्ण बनाउन दुवै पक्षको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
त्यसैगरी, एएफपीका अनुसार सीले ट्रम्पको प्रयासको प्रशंसा गर्दै उनका पहलहरू अन्तर्राष्ट्रिय राजनीतिमा स्मरणीय रहने बताए।
‘राष्ट्रपति महोदय, तपाईंले गर्नुभएका प्रयास सबैले स्पष्ट रूपमा देखेका छन् र ती इतिहासमा लेखिनेछन्,’ सीले ट्रम्पलाई सम्बोधन गर्दै भने।
सीको यो अभिव्यक्तिलाई विश्वका दुई प्रमुख आर्थिक तथा सामरिक शक्तिबीचको सम्बन्ध सुधार र सहकार्य विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार













प्रतिक्रिया