काठमाडौं । राष्ट्रिय जेन्जी नागरिक अभियानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविपरीतका गतिविधि भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।

अभियानले बिहीबार काठमाडौंको माईतीघर मण्डलामा पम्प्लेट वितरण गर्दै तिब्बती गतिविधि, दलाई लामासम्बन्धी गतिविधि तथा एक चीन नीतिविपरीतका गतिविधि बढिरहेको आरोप लगाएको हो।

अभियानका अजय सोडारीले नेपाललाई विदेशी हस्तक्षेपको रणभूमि बनाउने प्रयास भइरहेको आशंका व्यक्त गर्दै नेपालको सार्वभौमसत्ताविपरीत कुनै पनि गतिविधि हुन नहुने बताए। उनले दलाई लामाका प्रतिनिधिहरू काठमाडौं आएको विषयप्रति पनि आपत्ति जनाउँदै सरकारले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने माग गरे।

सोडारीले दलाई लामासम्बन्धी गतिविधि विस्तार गरी स्वतन्त्र तिब्बतको पक्षमा गतिविधि गर्ने प्रयास नेपालको राष्ट्रिय हित र एक चीन नीतिविपरीत रहेको दाबी गरे।

त्यस्तै, लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त छुइङ डोल्माको नियुक्तिप्रति पनि अभियानले विरोध जनाएको छ। डोल्माको नागरिकता तथा सम्पत्तिसम्बन्धी विषयमा प्रश्न उठाउँदै आएको उल्लेख गर्दै सोडारीले लामो समयदेखि विरोध भइरहे पनि सरकारले सुनुवाइ नगरेको आरोप लगाए।

उनले डोल्मालाई सुरक्षाकर्मीको उपस्थितिमा दलबलसहित लुम्बिनी विकास कोषमा प्रवेश गराइएको भन्दै आपत्ति जनाए। उक्त विषयमा अभियानले निरन्तर आवाज उठाउनुका साथै कानुनी प्रक्रिया पनि अघि बढाउने उनले बताए।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com