काठमाडौं  । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताएकी छन् ।

बिहीबार राजधानीमा जलवायु कार्य सप्ताहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले जाडोयाम बढेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण समेत बढ्दै जाने उल्लेख गर्दै यसको नियन्त्रणको कार्ययोजना निर्माणको गृहकार्य भइरहेको बताइन् । उक्त कार्ययोजना यही मंसिर ७ गतेदेखि सुरु हुने जलवायु कार्य सप्ताहमा सार्वजनिक गरिने उनले बताइन् । बिहीबार काठमाडौँ विश्वकै तेस्रो धेरै वायु प्रदूषित सहरको सूचीमा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्था मानव स्वास्थ्यका लागि चिन्ताजनक विषय भएको बताइन् ।

उनले काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि छिमेकी स्थानीय तहहरू, प्रदेश र संघ सरकारसँगको समन्वय र सहकार्य गरिने बताइन् ।

साथै, उनले जलवायु परिवर्तन न्युनिकरण तथा अनुकूलनका उपायबारे सरोकारवालाहरूसँग छलफल गरेर निचोड निकाल्न जलवायु कार्य सप्ताहको आयोजना गर्न लागिएको जानकारी दिइन्।

जलवायु परिवर्तनका क्षेत्रमा तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनका उपाय तय गर्न उक्त सप्ताह महत्वपूर्ण हुने डंगोलको भनाइ छ । उनले ‘रिचार्ज काठमाडौँ’ अभियान पनि सँगसँगै अघि बढाइने बताइन् ।

उनले भनिन्, ‘हरेक दिन सातै दिन सातवटा फरक फरक थिममा हामीले काम गर्दैछौँ । जलवायु परिवर्तनका विभिन्न आयाम तथा पक्षहरूसँगै जोडेर हेर्न जरुरी छ । र ती पक्षहरूलाई समग्र रूपमा हामीले सातवटा डिफरेन्ट क्लस्टर, डिफरेन्ट क्याटेगरी, डिफरेन्ट डेज गरेर हामीले जलवायु कार्य गर्न लागेका हौँ । यसमा हामीले जतिसक्दो धेरै सरोकारवाला निकायहरूलाई एकै ठाउँमा ल्याएर विमर्श गर्छौँ । हामीले जलवायु परिवर्तनका क्षेत्रमा तत्काल गर्न सक्ने कामहरु के के हुन् रु र ती कामहरु कसरी गर्ने भनेर निष्कर्ष निकाल्छौँ । प्राइभेट सेक्टर, पब्लिक सेक्टर, नागरिक समाज वैज्ञानिक, कृषक सबैजना एकै ठाउँमा बसेर हामीले यो सप्ताहव्यापी रूपमा कार्यक्रमहरू गर्दैछौँ । काठमाडौँ महानगरपालिकाले पनि केही जलवायुसँग सम्बन्धित इनिसिएटिभ्सहरूको थालनी गर्दैछौँ । केही समय अगाडि पनि हामीले भनेका थियौँ रीचार्ज काठमाडौँ क्याम्पेन काठमाडौँ महानगरपालिकाले लन्च गर्छ भनेर । हामीले एयर पोल्युसनको आजै मात्र पनि कुरा गर्ने हो भने पोल्युटेड सिटीजहरू एयर पोल्युसनबाट सबैभन्दा प्रभावित, नकारात्मक प्रभाव परेको पोल्युटेड सिटीजहरूमा हिजो पाँचौँ नम्बरमा, आज तेस्रो नम्बरमा पुगेको छ । यो हाम्रो लागि सुखद समाचार होइन । जाडो महिना बढ्न थालेपछि चिसोसँगसँगै एयर पोल्युसनको कुरा पनि सँगै आउने गर्दछ । र यी कुराहरूलाई पनि सम्बोधन गर्ने गरी महानगरपालिकाले एयर पोल्युसन एड्रेस गर्ने गरी एक्सन प्लान पनि हामीले यही बेलामा नै सार्वजनिक गर्नेछौँ । जसमा हामीले काठमाडौँ महानगरपालिकाले गर्ने प्रयासहरू, महानगरपालिकाले संस्थागत रूपमा गर्छ र सँगसँगै अरू पालिकाहरूसँग मिलेर, प्रदेश र संघ सरकारसँग मिलेर गर्नुपर्ने कामको योजना समेत सार्वजनिक गर्छौँ ।’

जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहिक प्रयास, सहकार्यको थालानी गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको आयोजनामा मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौँ जलवायु कार्य सप्ताह आयोजना हुँदैछ ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com