काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराध गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनामाथि अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतले बिहीबार चार दिनको म्याद थप गरेको हो।
यस प्रकरणमा पक्राउ पर्ने अन्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौता तथा समझदारीविपरीत वैदेशिक रोजगारीमा जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने कार्यमा उनीहरूको संलग्नता रहेको आरोप छ।
सम्झौतामा व्यवस्था नभएको शुल्क उठाउने तथा अमेरिकी डलर र बेलायती पाउन्ड मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरू संलग्न रहेको सीआईबीको दाबी छ।
त्यस्तै, कानुनी प्रक्रिया र अधिकार क्षेत्रभन्दा बाहिर गएर विदेशी मुद्रा अपचलन गराएको तथा सरकारी पद र जिम्मेवारीको दुरुपयोग गर्दै संगठित समूहलाई आर्थिक लाभ पुर्याएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
अदालतबाट म्याद थप भएसँगै प्रहरीले घटनासँग सम्बन्धित निर्णय प्रक्रिया, आर्थिक कारोबार र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान अघि बढाउनेछ।
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार













प्रतिक्रिया