काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा निर्वाचन मंसिरमा गर्नुपर्ने पार्टीको धारणा सार्वजनिक गरेका छन्। जनप्रतिनिधिले संविधानअनुसार आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै उनले निर्धारित समयमै निर्वाचन गराउनुपर्नेमा जोड दिएका हुन्।

एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले स्थानीय तहलाई थप अधिकारसम्पन्न र स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताए। स्थानीय तहसँग विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारसमेत रहेकाले त्यसको प्रभावकारी प्रयोग गर्न सक्ने गरी सबल बनाउनुपर्ने उनको भनाइ थियो।

स्थानीय सरकार बलियो हुँदैमा देशमा विखण्डन वा पृथकतावादी गतिविधि बढ्ने नभई विकास निर्माण र जनसेवाका काम थप प्रभावकारी हुने उनले दाबी गरे। राष्ट्रियस्तरका ठूला आयोजना र समग्र व्यवस्थापनको जिम्मेवारी संघीय सरकारको भए पनि नागरिकका दैनिक आवश्यकता र स्थानीय सेवासुविधासँग सम्बन्धित काम स्थानीय तहमार्फत प्रभावकारी हुने ओलीले बताए।

प्रदेशलाई अत्यधिक शक्तिशाली बनाउँदा पृथकतावादी तथा जातिवादी प्रवृत्ति बढ्न सक्ने आशंका व्यक्त गर्दै उनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनु उपयुक्त हुने धारणा राखे।

ओलीले जनप्रतिनिधिहरूलाई नागरिकसँग शालीन, विनम्र र मित्रवत् व्यवहार गर्न पनि निर्देशन दिए। जनताको मतबाट निर्वाचित भएर जिम्मेवारीमा पुगेका जनप्रतिनिधिले पदको घमण्ड देखाउनुभन्दा मुस्कानसहित सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।

जनप्रतिनिधिले रूखो व्यवहार गर्ने, पदको धाक देखाउने र नागरिकका गुनासा नसुन्ने प्रवृत्तिले जनतामा असन्तुष्टि बढाउने उनले बताए। जनतासँगको सम्बन्ध सुधार्दै सेवामुखी व्यवहार अपनाउन उनले आग्रह गरे।

आगामी निर्वाचनलाई लक्षित गर्दै ओलीले विगतमा भएका कमजोरी सच्याउन र जनतासँग कमजोर बनेको सम्बन्ध पुनः स्थापित गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिए। राम्रो काम गरेका जनप्रतिनिधिलाई पुनः उम्मेदवार बनाउने सम्भावना रहेको उल्लेख गर्दै उनले पार्टीले अघि सारेका उम्मेदवारलाई जिताउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताए।

निर्वाचनको समयबारे स्पष्ट धारणा राख्दै ओलीले स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुनुपर्ने बताए। संविधानले जनप्रतिनिधिको पाँचवर्षे कार्यकालको व्यवस्था गरेकाले त्यसको पूर्ण पालना हुनुपर्ने उनको तर्क थियो।

‘संविधानबमोजिम पाँच वर्षमा चुनाव भनिएको छ, पाँच वर्षमै हुनुपर्छ। स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा हुनुपर्दछ र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्दछ,’ उनले भने।

यसैगरी, ओलीले पार्टीभित्र हुने अन्तर्घातप्रति कडा असन्तुष्टि जनाउँदै पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय हुने प्रवृत्तिलाई एमालेमा स्वीकार नगरिने चेतावनी दिए। पार्टी नछाड्ने तर चुनावमा आफ्नै उम्मेदवारलाई मत नदिने व्यवहार लज्जास्पद भएको उनको टिप्पणी थियो।

एमाले जित्नका लागि बनेको पार्टी भएको दाबी गर्दै ओलीले राष्ट्रियताको रक्षा, सुशासन र विकासलाई पार्टीको प्रमुख प्रतिबद्धताका रूपमा प्रस्तुत गरे। देश निर्माण र जनताको सेवाका लागि एमालेले निर्वाचन जित्नुपर्ने उनको भनाइ थियो।

उनले विगतका निर्वाचनमा एमालेलाई मत नदिएका नागरिकसँग पनि सम्बन्ध सुधार गर्नुपर्ने बताए। मत नदिएको आधारमा कुनै पनि नागरिकसँग दूरी बढाउन नहुने भन्दै उनीहरूको विश्वास जित्ने गरी जनप्रतिनिधि गाउँगाउँमा पुग्नुपर्ने ओलीले बताए।

आगामी निर्वाचनमा विजय हासिल गर्ने लक्ष्यसहित बाँकी समय जनताको सेवामा समर्पित हुन र टुटेको जनसम्बन्ध पुनः जोड्न उनले पार्टीका नेता तथा जनप्रतिनिधिहरूलाई आह्वान गरे।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com