काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनका बेला लागू हुने आचारसंहिताका कारण संघीय, प्रदेश र स्थानीय सरकारका नियमित कामकाज तथा निर्णय प्रक्रिया प्रभावित हुने बताएका छन्।

निर्वाचन आयोगबाहिर शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन आचारसंहिता लागू भएपछि तीनै तहका सरकार लामो समयसम्म विभिन्न निर्णय गर्न सीमित हुने अनुभव सुनाए। आफू मन्त्री हुँदा पनि निर्वाचनका समयमा यस्तो समस्या भोगेको उल्लेख गर्दै उनले निर्वाचनको समय निर्धारण गर्दा यस पक्षलाई समेत ध्यान दिनुपर्ने बताए।

थापाले निर्वाचनसम्बन्धी विषयमा राजनीतिक दलहरूले धारणा बनाउनुअघि सरकारले आफ्नो प्रस्ताव र दृष्टिकोण स्पष्ट पार्नुपर्ने बताए। सरकारले औपचारिक रूपमा कुनै प्रस्ताव सार्वजनिक नगरेको अवस्थामा सञ्चारमाध्यममा आएका समाचार वा बाहिरका चर्चाका आधारमा पार्टीले धारणा बनाउनु उचित नहुने उनको भनाइ थियो।

‘निर्वाचनको विषयमा संविधान र कानुनमा स्पष्ट व्यवस्था छ। निर्वाचन चैत–वैशाखमा हुनुपर्ने व्यवस्था छ भने कात्तिक–मंसिरमा गर्ने कुरा कहाँबाट आयो ? निर्वाचनको मिति निर्धारणबारे आयोगले आफ्नो धारणा राख्नुपर्छ र सरकारले पनि स्पष्ट प्रस्ताव ल्याउनुपर्छ,’ उनले भने।

निर्वाचन आयोगले प्रारम्भिक रूपमा आफ्नो धारणा प्रस्तुत गरेपछि मात्रै त्यसबारे पार्टीले आधिकारिक दृष्टिकोण बनाउने उनले स्पष्ट पारे।

थापाका अनुसार सरकारले राजनीतिक दलहरूबीच औपचारिक प्रस्तावसहित छलफल अघि बढाए कांग्रेसले पनि आफ्ना धारणा राख्नेछ। त्यसपछि पार्टीभित्र छलफल र अध्ययन गरेर निर्णय लिइने उनले बताए।

उनले संविधान र कानुनले निर्धारण गरेको व्यवस्थाअनुसार निर्वाचन आयोगले मिति तोक्नुपर्ने र सरकारले त्यसैअनुसार आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

‘आयोगले संविधान र कानुनअनुसार चैत–वैशाखमा निर्वाचन गर्ने गरी मिति तोक्ला र सरकारले पनि त्यसैअनुसार निर्णय गर्ला। त्यसपछि स्थानीय तहको निर्वाचन हुन्छ र आफ्नो समयमा प्रदेशको निर्वाचन हुन्छ। हामी पनि ती निर्वाचनमा आफ्नै ढङ्गले सहभागी हुन्छौँ,’ थापाले भने।

यसैबीच, भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई आफूले सुझाव दिने विषयमा पनि थापाले प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले सुझाव मागेको अवस्थामा आफूले सुझाव दिने तर नमागेको अवस्थामा अनावश्यक रूपमा सुझाव दिँदै हिँड्न आवश्यक नरहेको उनले बताए।

‘उहाँले सुझाव माग्नुभएको छ भने सुझाव दिइन्छ। सुझाव नमागेको अवस्थामा अनावश्यक रूपमा सुझाव दिँदै हिँड्नुपर्ने कुरा छैन,’ उनले भने।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com