काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रमुख दायित्व सरकारको भएको बताएका छन्। निर्वाचन आयोगको भूमिका महत्त्वपूर्ण भए पनि निष्पक्षताको प्रत्याभूति गराउने जिम्मेवारी सरकारबाट पन्छिन नमिल्ने उनको भनाइ छ।
शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनका विषयमा राजनीतिक दलका नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचनको निष्पक्षताका लागि सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए।
उनले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी काम सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी निर्वाह गर्ने भए पनि समग्र निर्वाचन वातावरण निर्माण गर्ने दायित्व सरकारको हुने स्पष्ट पारे।
‘निर्वाचन आयोगले निर्वाचनको निष्पक्षता र निर्वाचनसम्बन्धी काम गर्ने सन्दर्भमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। तर निष्पक्षताको सुनिश्चितता गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ,’ थापाले भने।
निर्वाचनका बेला सरकारले प्रतिपक्षी दललाई बेवास्ता गर्न नमिल्ने उल्लेख गर्दै उनले सामान्य अवस्थामा राजनीतिक दलप्रति सरकारको व्यवहार जे-जस्तो भए पनि निर्वाचनको समयमा सबै पक्षलाई विश्वासमा लिनुपर्ने बताए।
निर्वाचनको वातावरण निर्माणमा सरकारको भूमिकाबारे आयोगले समयमै ध्यान दिनुपर्ने विषय आफूले छलफलमा उठाएको पनि उनले जानकारी दिए।
गत भदौ २३ र २४ गतेको अप्रत्याशित राजनीतिक घटनापछि उत्पन्न परिस्थितिमा निर्वाचन सम्पन्न गर्न तत्कालीन सरकारले खेलेको भूमिकाको उदाहरण दिँदै थापाले निर्वाचन आयोग एक्लैले निर्वाचन गराउन सम्भव नहुने बताए।
उनले तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक दलहरूसँग पटक–पटक संवाद गरी निर्वाचनको वातावरण बनाउन गरेको प्रयास महत्त्वपूर्ण रहेको स्मरण गरे।
स्थानीय तह र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले के–कस्ता तयारी र भूमिका निर्वाह गर्नुपर्छ भन्ने विषयमा आयोगले समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनको सुझाव थियो।
‘निर्वाचन आयोगले मात्रै सबै जिम्मेवारी नबोकोस्। निर्वाचनको सम्पूर्ण जिम्मेवारी आयोगको मात्र हुँदैन,’ थापाले भने।
निर्वाचनको मिति र प्रक्रिया संविधान तथा कानुनले निर्धारण गरेको उल्लेख गर्दै उनले कतिपय विषय व्यवहारिक पक्षसँग पनि जोडिने बताए। यस्ता विषयमा सरकारले राजनीतिक दलहरूसँग पर्याप्त छलफल र सहमति गरेर टुंगोमा पुग्नुपर्ने उनको धारणा थियो।
प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार













प्रतिक्रिया