काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आईएमएफको ‘र्यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत उपलब्ध हुने उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
शुक्रबारको विनिमय दरअनुसार उक्त रकम नेपाली रुपैयाँमा करिब १५ अर्ब ९४ करोड ३० लाख बराबर हुन्छ।
त्यसैगरी, भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका लागि चीन सरकारले उपलब्ध गराउने २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। उक्त रकम जीवन रक्षा, आपत्कालीन उद्धार तथा राहत कार्यमा उपयोग गरिने मन्त्री तिमिल्सिनाले बताए।
मन्त्रिपरिषद् बैठकले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी अभिलेख तयार गर्न आवश्यक आदेश जारी गर्ने निर्णयसमेत गरेको छ।
बैठकले राष्ट्रिय जैविक विविधता रणनीतिक कार्ययोजना (२०२६–२०३०) स्वीकृत गरेको छ। ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी मापदण्ड, २०८३ लाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए।
यसैगरी, राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार











प्रतिक्रिया