काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको थलो बन्ने बताउँदै आफ्ना जनप्रतिनिधिलाई काममा देखिएका कमजोरी सच्याउन निर्देशन दिएका छन्।
शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले नागरिकको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे। राम्रो काम गरेका जनप्रतिनिधिलाई पार्टीका कार्यकर्ता र नागरिकले फेरि उम्मेदवार बनाउन चाहे उनीहरू सोही पदमा दोहोरिन सक्ने उनले बताए।
ओलीले संविधान तथा संघ र प्रदेशका कानुनसँग नबाझिने गरी स्थानीय तहले आवश्यकताअनुसार कानुन बनाएर काम गर्न सक्ने उल्लेख गरे। उनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो अधिकार प्रयोग गरेर काम अघि बढाउन आग्रह गरे।
एमालेले आगामी निर्वाचन जित्ने र छिट्टै फेरि सरकारको नेतृत्व गर्ने दाबी गर्दै ओलीले भने, ‘हाम्रो पार्टी हार्नका लागि जन्मिएको पार्टी नै होइन। हामी जित्छौँ।’ उनले मुलुकको विकास र राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी एमालेले पूरा गर्ने दाबी पनि गरे।
प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार











प्रतिक्रिया