काठमाडौं । जिल्लामा गएराति भएका बेग्ला-बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा प्र ०३–००१ ख ३४६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको को २२ प १६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा गएराति मृत्यु भएको थियो ।

प्रहरीले ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–६ सञ्जय रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । त्यस्तै आज बिहान दुहबी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चार जना घाइते भएका छन् ।

इटहरीबाट दुहबीतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–०६२ प ७८७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । घाइतेमध्ये नेपाल प्रहरीका हबलदार रोहितकुमार राजवंशीसमेत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार, चारै जना घाइतेको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये हबलदार राजवंशी र अजयकुमार चौधरीको अवस्था गम्भीर रहेकाले सूचना अधिकारी खड्काले बताए। प्रहरीका अनुसार मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको परीक्षणबाट खुलेको छ । रासस

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com