काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताअन्तर्गतका अधुरा काम शीघ्र सम्पन्न गर्न सरकार, राजनीतिक दल र सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

विस्तृत शान्ति सम्झौताको २०औँ वर्ष प्रवेशका अवसरमा सन्देश जारी गर्दै प्रचण्डले संक्रमणकालीन न्याय प्रक्रियालाई द्वन्द्वपीडितको भावना र सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका हुन्।

२०६३ मंसिर ५ गते तत्कालीन सरकार र नेकपा (माओवादी)बीच भएको सम्झौता नेपाली जनताको संघर्ष, बलिदान र परिवर्तनको आकांक्षाबाट स्थापित ऐतिहासिक राष्ट्रिय सहमति भएको उनले उल्लेख गरेका छन्।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्षका रूपमा आफूले सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै प्रचण्डले यसलाई नेपालको राजनीतिक रूपान्तरण र राष्ट्रिय एकताको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार शान्ति सम्झौताकै आधारमा संविधानसभा निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र नयाँ संविधान निर्माणजस्ता राजनीतिक उपलब्धि सम्भव भएका हुन्।

तर सम्झौतामा उल्लेख गरिएका सबै प्रतिबद्धता अझै पूरा हुन नसकेको उनको भनाइ छ। विशेषगरी द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने, सत्य निरुपण तथा मेलमिलाप प्रक्रिया टुंग्याउने र बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने काम अझै बाँकी रहेको उनले औँल्याएका छन्।

प्रचण्डले शान्ति प्रक्रियाको उद्देश्य सशस्त्र द्वन्द्व अन्त्य गर्नुमा मात्र सीमित नभई पीडितलाई न्याय, सामाजिक मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु पनि रहेको बताएका छन्।

‘शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो,’ उनले भनेका छन्, ‘यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।’

शान्ति प्रक्रियामा योगदान पुर्‍याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नागरिकप्रति सम्मान व्यक्त गर्दै उनले बाँकी काम पूरा गर्न सबै पक्षलाई गम्भीरतापूर्वक अघि बढ्न आह्वान गरेका छन्।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com