काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर राजनीतिक दलहरूले नेपाललाई हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप लगाएका छन्। उनले नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने मागसमेत गरेका छन्।

आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले नेपालको धार्मिक, सांस्कृतिक र मौलिक पहिचानको संरक्षणका लागि हिन्दुराष्ट्र पुनःस्थापना आवश्यक रहेको बताए।

उनले धर्म र राजनीतिलाई एकअर्काबाट अलग गरेर हेर्न नहुने धारणा राखे। राजनीतिमा धर्मको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले धर्म र राजनीतिबीचको सम्बन्ध कमजोर हुँदा राजनीति गलत दिशातर्फ जान सक्ने बताए।

धर्म र राजनीति एकअर्काका परिपूरक भएको उनको भनाइ थियो। नेपालको परम्परा, संस्कृति र सभ्यताको संरक्षणका लागि पनि सनातन हिन्दुराष्ट्रको अवधारणा आवश्यक रहेको उनले उल्लेख गरे।

लिङ्देनले नेपाली जनताको भावना र देशको मौलिक पहिचानलाई बेवास्ता गर्दै धर्मनिरपेक्षताको निर्णय गरिएको आरोप लगाए। राष्ट्रिय पहिचान, धार्मिक स्वतन्त्रता र सनातन संस्कृतिको संरक्षणका लागि हिन्दुराष्ट्र पुनःस्थापनाको विषयलाई राजनीतिक तथा राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा राप्रपा सांसद खुश्बु ओलीले हिन्दुराष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताइन्। उनले मठमन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दुराष्ट्र स्थापनाका लागि दबाब दिन धार्मिक गुरुहरूसँग आग्रह गरिन्।

हिन्दुराष्ट्र स्थापनाको मुद्दामा राप्रपाले संसद्भित्र आवाज उठाउने र धार्मिक गुरुहरूले संसद्बाहिरबाट अभियानलाई बलियो बनाउनुपर्ने ओलीको भनाइ थियो।

प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com