काठमाडौं । गत भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पठनपाठन पुनः सञ्चालन गर्न एनसेल फाउन्डेसनले शैक्षिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सहयोग गर्ने भएको छ।
बाढीका कारण क्याम्पसका भौतिक संरचनामा व्यापक क्षति पुगेपछि प्रभावित बनेको शैक्षिक गतिविधि पुनः सञ्चालन गर्ने उद्देश्यले एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग सहकार्यको समझदारी गरेको हो। यससम्बन्धी समझदारीपत्रमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हस्ताक्षर गरेका छन्।
एनसेल फाउन्डेसनले क्याम्पसमा नियमित पठनपाठन सञ्चालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सहयोग गर्ने जनाइएको छ। त्यसैगरी क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर, फर्निचरलगायत शैक्षिक सामग्री तथा सुविधासमेत उपलब्ध गराइने एनसेलले जनाएको छ।
बाढीबाट क्याम्पसका संरचनामा क्षति पुगेपछि तीन सयभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो। एनसेल फाउन्डेसनको यो सहयोगबाट लामो समयदेखि प्रभावित शैक्षिक गतिविधि पुनः सञ्चालन हुने र विद्यार्थीहरू नियमित रूपमा कक्षाकोठामा फर्कन सक्ने अपेक्षा गरिएको छ।
सहयोगप्रति आभार व्यक्त गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले क्याम्पसको पठनपाठन सञ्चालनका लागि आवश्यक शैक्षिक पूर्वाधार उपलब्ध गराउन एनसेल फाउन्डेसनले गरेको सहकार्य महत्त्वपूर्ण रहेको बताए। उनले यस सहकार्यलाई उच्च मूल्याङ्कन गर्दै नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न एनसेल फाउन्डेसनसँग सहकार्य गर्ने इच्छा व्यक्त गरे।
एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न फाउन्डेसन प्रतिबद्ध रहेको बताइन्। प्रभावित समुदायको वास्तविक आवश्यकता पहिचान गरी स्थानीय तह र समुदायसँग प्रत्यक्ष सहकार्य गरेर सहयोग पुर्याउने फाउन्डेसनको उद्देश्य रहेको उनको भनाइ छ।
उनले विदुर नगरपालिकासँगको सहकार्य प्रभावित क्षेत्रमा शैक्षिक पुनःस्थापनाका लागि सुरु गरिएको अभियानको पहिलो चरण भएको उल्लेख गर्दै आगामी दिनमा स्थानीय निकायसँगको समन्वयमा अन्य प्रभावित विद्यालय तथा क्याम्पसहरूको पहिचान गरी सहयोग विस्तार गरिने बताइन्।
यसअघि एनसेल फाउन्डेसनले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो। तत्कालीन राहत सहयोगपछि अहिले प्रभावित क्षेत्रमा दीर्घकालीन पुनःस्थापना तथा शैक्षिक निरन्तरताका लागि स्थानीय तहसँग प्रत्यक्ष समन्वय गरेर काम अघि बढाइएको फाउन्डेसनले जनाएको छ।
कार्यक्रमको कार्यान्वयन साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत हुनेछ। एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन, विदुर नगरपालिका र स्थानीय समुदायको सहकार्यमा प्रभावित क्षेत्रको आवश्यकता मूल्याङ्कन गरी पठनपाठन पुनः सञ्चालन गर्न थप सहयोग आवश्यक रहेका विद्यालय तथा क्याम्पसहरूको पहिचानसमेत गरिने जनाइएको छ।
यस पहलले प्राकृतिक विपत्तिका कारण शैक्षिक अवसरबाट वञ्चित हुन पुगेका विद्यार्थीलाई पुनः अध्ययनको वातावरण उपलब्ध गराउनुका साथै बाढी प्रभावित क्षेत्रको शैक्षिक पुनःस्थापनामा समेत योगदान पुग्ने देखिन्छ।
प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार













प्रतिक्रिया