काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आजका लागि तय भएको सुनुवाइ स्थगित भएको छ।
रिटमा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई अदालतको म्याद बुझाउन बाँकी रहेकाले सुनुवाइ अघि बढ्न नसकेको हो।
यसअघि सर्वोच्च अदालतको टोली म्याद तामेलीका लागि प्रहरी प्रधान कार्यालय पुगेको थियो। तर, डा. केसीको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का रूपमा उल्लेख भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो।
म्याद तामेली प्रक्रिया पूरा हुन नसकेपछि सर्वोच्च अदालतले आजका लागि निर्धारित सुनुवाइ स्थगित गरेको हो। रिटमाथि अर्को सुनुवाइ कहिले हुने भन्ने मिति भने तय भइसकेको छैन।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार













प्रतिक्रिया