काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको राजकीय भ्रमणका क्रममा नेपाली भाषामै सम्बोधन गरेर द्विपक्षीय कूटनीतिक अभ्यासमा नयाँ दृष्टान्त प्रस्तुत गरेका छन्।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको उच्चस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले आ–आफ्नो राष्ट्रिय भाषामा मन्तव्य राखेका हुन्।

पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले हिन्दी भाषामा सम्बोधन गरेका थिए भने प्रधानमन्त्री शाहले पूर्ण रूपमा नेपाली भाषामै आफ्नो धारणा व्यक्त गरेका थिए। यसअघि यस्ता संयुक्त पत्रकार सम्मेलनमा अङ्ग्रेजी भाषाको प्रयोग हुँदै आएकोमा यसपटक दुवै नेताले आफ्नै भाषालाई प्राथमिकता दिएका हुन्।

कार्यक्रममा उपस्थित कूटनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा सञ्चारकर्मीको सहजताका लागि भने अङ्ग्रेजी भाषामा अनुवादको व्यवस्था गरिएको थियो।

आफ्नो देशको भाषामा अन्तर्राष्ट्रिय मञ्चबाट सम्बोधन गर्ने प्रधानमन्त्री शाहको कदमलाई नेपाली भाषा र राष्ट्रिय पहिचानको सम्मानका रूपमा हेरिएको छ।

यसैबीच, प्रधानमन्त्री शाह र मोदीबीचको द्विपक्षीय वार्तामा व्यापार, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी तथा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ राष्ट्रिय गुरुयोजनालगायतका विषयमा छलफल भएको थियो।

भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवा उद्घाटन गर्नुका साथै ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्याससमेत गरेका छन्।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com