काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तालाई मधेस तथा समग्र नेपालका लागि गौरवपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राउतले बालेनको भारत भ्रमणलाई युवा पुस्ता र विशेषगरी मधेसी समुदायका लागि ऐतिहासिक घटनाका रूपमा चित्रण गरेका हुन् ।

उनले नेपालको लामो राजनीतिक इतिहासमा मधेसी समुदाय राज्यसत्ताको सर्वोच्च नेतृत्वमा पुग्नबाट वञ्चित हुँदै आएको उल्लेख गर्दै बालेन प्रधानमन्त्री बन्नुलाई त्यस अवस्थाको परिवर्तनका रूपमा व्याख्या गरेका छन् ।

राउतका अनुसार विगतमा राज्यसत्ताको निर्णायक तहमा मधेसी समुदायको प्रतिनिधित्व कमजोर हुँदा छिमेकी तथा अन्तर्राष्ट्रिय शक्तिहरूले पनि मधेसलाई पर्याप्त महत्त्व दिएका थिएनन् । मधेसमा ठूलो जनसंख्या रहे पनि विकासका योजना, अनुदान तथा पूर्वाधार परियोजनामा अपेक्षित प्राथमिकता नपाएको उनको टिप्पणी छ ।

अन्तर्राष्ट्रिय शक्तिहरूले मधेसलाई विकासको साझेदारका रूपमा भन्दा पनि राजनीतिक स्वार्थ पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न खोजेको आरोपसमेत उनले लगाएका छन् ।

तर, अहिले मधेसी समुदायबाट प्रधानमन्त्री बनेका बालेनसँग विश्वका शक्तिशाली राष्ट्रहरूले समेत संवाद र सहकार्य गर्नुपर्ने अवस्था सिर्जना भएको राउतको भनाइ छ ।

‘त्यही मधेसका बालेनले आज विश्वलाई देखाइदिए कि विश्वका शक्तिराष्ट्रहरू पनि मधेसी प्रधानमन्त्रीसँग उभिनुपर्ने रहेछ, मधेसीको पनि काम पर्ने रहेछ र मधेस पनि काम लाग्ने रहेछ,’ उनले लेखेका छन् ।

राउतले बालेनको प्रधानमन्त्री पदमा उदयले मधेसी समुदायमा राजनीतिक आत्मविश्वास थप बलियो बनाएको बताएका छन् । यसले मधेसको राजनीतिक सम्भावना र भविष्यप्रतिको आशा बढाएको उनको दाबी छ ।

उनका अनुसार बालेनको अन्तर्राष्ट्रिय उपस्थितिले मधेसका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ । अब अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले मधेसलाई बेवास्ता गरेर अघि बढ्न नसक्ने उनको टिप्पणी छ ।

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका क्रममा भारतमा छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका छन् । नेपाल–भारतबीचको सहकार्य विस्तारका विषयमा छलफल हुनुका साथै अयोध्या र जनकपुरधामलाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरिएको छ । भ्रमणका क्रममा अन्य विकास आयोजनाको उद्घाटन तथा शिलान्याससमेत गरिएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com