काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको सीमामा मात्र सीमित नरहेको बताएका छन्। उनले दुवै देश इतिहास, संस्कृति, परम्परा र शताब्दीयौँदेखिको जनस्तरको सम्बन्धले जोडिएको उल्लेख गरेका छन्।
सोमबार प्रधानमन्त्री वालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गरेका हुन्।
सन् २०१८ मा गरेको जनकपुर भ्रमण स्मरण गर्दै उनले भारत र नेपालको सम्बन्ध भगवान् राम र माता सीतासँग जोडिएको बताए। जनकपुर माता सीताको जन्मस्थल र अयोध्या भगवान् रामको नगरी भएकाले यी दुई स्थानको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको उनको भनाइ थियो।
मोदीले भने, ‘नेपालबिना हाम्रो तीर्थयात्रा अधुरो छ।’ उनले भारत–नेपाल सम्बन्धको यही विशिष्ट विशेषताले दुई देशका नागरिकलाई एकअर्कासँग नजिक बनाएको बताए।
यसैगरी, मोदीले नेपाललाई भारतका कान्डला र पारादीप बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने तथा सडक, रेल र सीमा सम्पर्क विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। यस्ता पूर्वाधारले दुई देशबीच व्यापार र आवागमनलाई सहज बनाउने उनको भनाइ थियो।
उनले उत्तराखण्ड र नेपालबीच धारचुलामा सडक पुल उद्घाटन गरिएको तथा बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको जानकारी दिए। यी परियोजनाले नेपाल र उत्तराखण्डबीच व्यापार तथा नागरिक आवागमन सहज बनाउने उनले बताए।
त्यस्तै, बिहार र उत्तर प्रदेशसहित भारतका विभिन्न राज्यलाई नेपालसँग जोड्ने सडक, रेल तथा सीमा सम्पर्कसम्बन्धी परियोजनालाई तीव्रता दिइने मोदीले उल्लेख गरे।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार












प्रतिक्रिया