काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सन हुआङलाई पुनः कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिले सर्वसम्मत निर्णय गर्दै उनलाई नेतृत्वमा फर्काएको हो।

सोमबार घोषणा गरिएको यो निर्णय तत्काल लागू हुने एनभिडियाले जनाएको छ। हुआङलाई कम्पनीको सञ्चालक समितिमा समेत पुनः समावेश गरिएको छ।

कम्पनीका अनुसार सञ्चालक समितिले विभिन्न चरणमा छलफल तथा बैठक गरेपछि हुआङलाई पुनः नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो। छलफलका क्रममा उनले आफ्ना धारणा स्पष्टता र इमानदारीपूर्वक प्रस्तुत गरेको तथा कम्पनीको नेतृत्व गर्न सक्षम रहेको निष्कर्ष समितिले निकालेको थियो।

यस निर्णय प्रक्रियामा सञ्चालक समितिले अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूसँग समेत परामर्श गरेको थियो। उनीहरूको सुझावका आधारमा हुआङको पुनर्बहालीले राष्ट्रिय सुरक्षामा कुनै खतरा नपुग्ने निष्कर्ष निकालिएको कम्पनीले जनाएको छ।

सञ्चालक समितिका अध्यक्ष हार्भे सी. जोन्सले एनभिडियाको नेतृत्वका लागि हुआङ नै उपयुक्त व्यक्ति भएको बताएका छन्। उनको पुनरागमन कम्पनीका सेयरधनी, कर्मचारी, साझेदार र ग्राहक सबैको हितमा रहेको उनको भनाइ छ।

जोन्सले अन्तरिम सीईओका रूपमा जिम्मेवारी सम्हालेकी कोलेट क्रेसप्रति पनि आभार व्यक्त गरेका छन्। उनले क्रेसले अन्तरिम नेतृत्वसँगै कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ) को जिम्मेवारीसमेत निर्वाह गरेको उल्लेख गरेका छन्।

हार्भे सी. जोन्स भने सञ्चालक समितिको अध्यक्ष पदमै कायम रहनेछन्।

हुआङले नोभेम्बर १२ मा राजीनामा दिएको समाचारमा उल्लेख छ। उनीसँग सम्बन्धित दुईवटा अफेयरका खबर सार्वजनिक भएपछि उनले पद छाडेका थिए।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुआङको एनभिडियामा पुनरागमनको स्वागत गरेका छन्। उनले यसलाई ‘सही र उचित निर्णय’ भन्दै कम्पनीको सफलता, समृद्धि र अमेरिकी अर्थतन्त्रको प्रगतिका लागि हुआङको नेतृत्व आवश्यक रहेको बताएका छन्।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले हुआङको पुनरागमनबाट राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने कुनै कारण नरहेको उल्लेख गरेका छन्। उनले हुआङलाई ‘देशभक्त र राष्ट्रिय धरोहर’ को संज्ञासमेत दिएका छन्।

त्यस्तै, अमेरिकी उद्योगपति तथा टेस्लाका प्रमुख एलन मस्कले पनि हुआङको पुनरागमनको स्वागत गरेका छन्। एनभिडियाको घोषणालाई सामाजिक सञ्जाल एक्समा साझा गर्दै उनले ‘गल्ती सच्याइयो’ भन्ने प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com