काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)की दिदी सुजाता साह सेजेकनले भाइको भारत भ्रमणलाई सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताएकी छन् । उनले बालेनको राजनीतिक उदय र नेतृत्वले नेपालका मात्र नभई विश्वभरका युवालाई प्रेरित गरेको उल्लेख गरेकी छन् ।
भारतमा बस्दै आएकी सुजाताले भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै बालेन अहिले अन्तर्राष्ट्रिय स्तरमै महत्त्वपूर्ण व्यक्तित्वका रूपमा स्थापित हुँदै गएको बताइन् ।
‘यो निकै गर्वको क्षण हो। बालेन्द्र अहिले महत्त्वपूर्ण व्यक्तित्व बनेका छन्। उनी नेपालका युवामात्र नभई विश्वभरका युवाका लागि प्रेरणा हुन्,’ उनले भनिन् ।
सुजाताका अनुसार परम्परागत राजनीतिक सोचअनुसार लामो समय राजनीति गरेका र अनुभवी व्यक्तिले मात्रै उच्च नेतृत्व सम्हाल्न सक्छन् भन्ने मान्यतालाई बालेनले चुनौती दिएका छन् । युवाहरू पनि देशको सर्वोच्च नेतृत्वमा पुग्न सक्छन् भन्ने उदाहरण उनले प्रस्तुत गरेको उनको भनाइ छ ।
‘नेतृत्वमा पुग्न अनुभवी व्यक्ति नै हुनुपर्छ भन्ने पुरानो सोचलाई उनले तोडेका छन्। यस क्षेत्रका युवाले पनि उच्च नेतृत्वमा पुग्न सक्छन् भन्ने उदाहरण बनेका छन्। उनी नेपालका प्रधानमन्त्री हुनु हामी सबै नेपालीका लागि गर्वको विषय हो,’ उनले भनिन् ।
उनले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट पाएको स्वागत र दुई देशका प्रधानमन्त्रीबीच भएको भेटवार्ताबाट आफूहरू प्रभावित भएको पनि बताइन् ।
भेटवार्ताका क्रममा विश्वमा शान्ति स्थापना र प्रवर्द्धन गर्ने विषयमा समेत गम्भीर छलफल भएको आफूलाई लागेको उनले उल्लेख गरिन् ।
प्रधानमन्त्री शाह दुईदिने राजकीय भारत भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका थिए । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नुका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए ।
भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार, सहरी विकास, स्वास्थ्य, पशुपालन र मत्स्यपालनलगायतका क्षेत्रमा सहकार्य गर्ने आठवटा समझदारी भएका थिए ।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया