काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएका विवाद र समस्यामा कांग्रेस संलग्न नहुने स्पष्ट पारेका छन्। उनले रास्वपाभित्रका आन्तरिक विषयमा कांग्रेसलाई कुनै चासो नरहेको पनि बताएका छन्।

मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपाभित्रको कुनै पनि विवादमा कांग्रेस सहभागी नहुने बताए। यस विषयलाई पार्टीको महाधिवेशनसम्बन्धी दस्ताबेजमै स्पष्ट रूपमा उल्लेख गरिएको उनको भनाइ थियो।

‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्यामा पस्दैनौँ। हामीलाई त्यसमा रुचि पनि छैन। कुनै कचकच गर्दैनौँ र कुनै उपद्रोमा सहभागी पनि हुँदैनौँ,’ थापाले भने।

उनले सरकार सञ्चालनमा सत्तापक्षको जस्तै प्रतिपक्षको पनि महत्वपूर्ण जिम्मेवारी हुने उल्लेख गरे। तर, अहिले प्रतिपक्षमा रहेका दलहरूबीच गठबन्धन बनाउने पक्षमा कांग्रेस नरहेको उनले स्पष्ट पारे।

कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेकाले सरकारसँग आवश्यकताअनुसार सहकार्य र खबरदारी दुवै गर्ने थापाले बताए।

‘जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ, त्यहाँ गर्छौँ। जहाँ खबरदारी गर्नुपर्छ, त्यहाँ खबरदारी गर्छौँ। सरकारलाई प्रश्न सोध्नुपर्ने ठाउँमा प्रश्न सोध्छौँ,’ उनले भने।

सरकारका गलत कदमको प्रतिरोध गर्ने र आवश्यक विषयमा प्रतिपक्षमा रहेका अन्य दलसँग संवाद तथा सहकार्य गर्ने नीति कांग्रेसले अपनाउने पनि थापाले बताए।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com