काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक कद, प्रतिष्ठा र मर्यादाअनुसार अभिव्यक्ति दिन आग्रह गरेका छन्।

मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले देउवा पार्टीका अभिभावक तथा वरिष्ठ नेता भएकाले उनका अभिव्यक्ति पनि सोही हैसियतअनुसार हुनुपर्ने बताएका हुन्।

देउवाकै सभापतित्वमा आफूहरूले पार्टीको कार्यसमितिमा काम गरेको स्मरण गर्दै थापाले राजनीतिक विषयमा मतभिन्नता हुनु स्वाभाविक भए पनि त्यसलाई मर्यादित र राजनीतिक ढंगले व्यक्त गर्नुपर्नेमा जोड दिए।

विशेष परिस्थितिमा पार्टी विधानअनुसार विशेष महाधिवेशन गरिएको उल्लेख गर्दै उनले त्यस विषयमा कसले के भन्यो भन्नेभन्दा पनि देउवाजस्तो वरिष्ठ नेताले आफ्नो राजनीतिक उचाइअनुसार व्यवहार गर्नुपर्ने बताए।

थापाले जेनजी आन्दोलनका क्रममा देउवाको घर आफूले जलाएको हो भनेर प्रश्न गर्दा देउवाले टाउको हल्लाएर सहमति जनाएको देखिने एउटा भिडियो आफूले हेरेको प्रसंगसमेत बैठकमा सुनाए।

‘त्यो उमेर र कदको नेताको बोली राजनीतिक हुनुपर्छ। असहमति पनि राजनीतिक हुनुपर्छ। सीमा र मर्यादाभित्र हुनुपर्छ,’ उनले भने।

देउवाले विभिन्न सार्वजनिक मञ्चबाट दिएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै थापाले आफ्नो सुझाव कुनै गुनासोका कारण नभई उनीप्रतिको सम्मान, प्रेम र चिन्ताका कारण आएको स्पष्ट पारे।

‘उहाँ अग्लो हुनुहुन्छ, अग्लाइमै बस्नुस्। तपाईंले आफ्नो लेबल मेन्टेन गर्नुस्। तपाईं कांग्रेस सभापति, पाँच पटक प्रधानमन्त्री भएको नेता हो, त्यसलाई मेन्टेन गर्नुस्। यो कुरा मैले प्रेम र स्नेहसाथ भनेको हुँ,’ थापाले भने।

यसैगरी, अदालतमा चलखेल भएको भन्ने देउवाको अभिव्यक्तिप्रति पनि थापाले प्रश्न उठाए। अदालतमा कसले वारेस राखेको छ भन्ने विषयमा जानकारी लिन आग्रह गर्दै उनले त्यसपछि देउवाले आफ्नो अभिव्यक्तिबारे पुनर्विचार गर्ने संकेत गरे।

‘अदालतमा वारेस कसले हालेको हो, खोज्नुहोस्, त्यसपछि देउवा बोल्न छाड्नुहुन्छ,’ उनले भने।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com