काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुंगे पुलका लागि रु पाँच करोड बजेट माग गरिएको छ ।

गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रूपमा बन्द छ । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुंगे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग रु पाँच करोड बजेट माग भएको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शंकर बुढाथोकीले जानकारी दिए ।

“माटो परीक्षण गर्नुपर्ने भत्किएको पिल्लर वरपर अहिले पनि पानी बगिरहेकाले हामीले प्राविधिक खटाएर विस्तृत लागत प्रतिवेदन तयार पार्न सकेका छैनौँ”, योजना प्रमुख बुढाथोकीले भने, “नदीमा पानीको सतह घटेपछि अरु प्राविधिक काम सम्पन्न गरेर ठेक्का प्रक्रियामा जान्छौँ ।”

पुलमा क्षति भएपछि त्यसको अध्ययन गर्न सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा दुई सदस्य प्राविधिक टोली कञ्चनपुर पुगेको थियो । टोलीले पुलमा रु सात करोड बराबरको क्षति भएको र पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन करिब रु २० करोड लाग्ने अनुमान गरेको थियो ।

यहाँ आएको प्राविधिक टोलीले पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको औँल्याएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चाँदनी झोलुंगे पुल पुनर्निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । दोधारा चाँदनी झोलुंगे पुल पर्यटकीय गन्तव्यका रूपमा पनि मुलुकमै परिचित पुलमा पर्छ ।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com