काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ व्यवस्थाअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम सातौँ स्थानबाट उक्लिएर तेस्रो वरीयतामा पुगेकी छन्।
यसअघि मन्त्रिपरिषद्मा तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल अब एक स्थान तल झरेका छन्। गौतम तेस्रो स्थानमा पुगेपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको मर्यादाक्रम पनि एक–एक स्थान तल परेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीको वरीयतामा तेस्रो स्थानमा छिन्। पार्टीभित्रको वरीयताअनुसार नै उनलाई मन्त्रिपरिषद्मा पनि माथिल्लो स्थानमा राखिएको बताइएको छ।
यसअघि पार्टीमा तेस्रो वरीयतामा रहे पनि उनी मन्त्रिपरिषद्मा सातौँ स्थानमा थिइन्। नयाँ व्यवस्थासँगै उनको मन्त्रिपरिषद्को मर्यादाक्रम पनि पार्टीको वरीयतासँग मिलाइएको छ।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया