काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सामान्य र नियमित भ्रमणका रूपमा टिप्पणी गरेका छन्। उनले भ्रमणबाट कुनै नयाँ र तात्त्विक उपलब्धि हासिल भएको आफूले नदेखेको बताएका छन्।
बिहीबार महोत्तरीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले कतिपयले प्रधानमन्त्री शाहको भ्रमणलाई विशिष्ट र ऐतिहासिक भने पनि त्यसरी व्याख्या गर्नु उचित नभएको बताए।
आफू प्रधानमन्त्री हुँदा भारतसँग भएका छलफल र पहलको तुलनामा अहिलेको भ्रमण उपलब्धिमूलक हुन नसकेको उनको दाबी छ। आफ्नो कार्यकालमा हवाई मार्ग, विद्युत् व्यापार र सीमा समस्याबारे ठोस प्रतिबद्धता व्यक्त भएको स्मरण गर्दै उनले अहिले ती विषय सैद्धान्तिक छलफलमै सीमित रहेको बताए।
प्रचण्डले भैरहवा, नेपालगञ्ज र धनगढीका लागि हवाई मार्ग तथा सीमा सम्बन्धी विषयमा आफ्नो पालामा भारतीय पक्षसँग कुरा अघि बढेको उल्लेख गरे। अहिलेको भ्रमणमा ती विषयले त्यतिबेलाको जस्तो प्रगति हासिल नगरेको उनको भनाइ छ।
यद्यपि, प्रधानमन्त्रीको भारत भ्रमण आवश्यक रहेको बताउँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे। मोदीसँगको भेटघाट र दुई नेताबीचको आत्मीय सम्बन्धलाई आफूले सकारात्मक रूपमा लिएको उनले बताए।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया