काठमाडौं । महिला, बालबालिका तथा लैङ्गिक हिंसा अन्त्यका लागि पीडितको न्यायमा पहुँच सुनिश्चित गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बनाउनु आवश्यक रहेको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बताएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको बुधबार ललितपुरमा शुभारम्भ गर्दै मन्त्री बादीले हिंसापीडितलाई न्याय दिलाउन कानुनी प्रक्रिया सहज, छिटो, छरितो र कम खर्चिलो बनाउनुपर्ने बताइन्।

उनले सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानुनी सहायताको अभाव र आर्थिक परनिर्भरता हिंसापीडितले न्याय पाउन नसक्नुका प्रमुख बाधक रहेको उल्लेख गरिन्।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क प्रस्तुत गर्दै उनले १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र आठ प्रतिशतले यौन हिंसा भोगेको जानकारी दिइन्। हिंसाबाट प्रभावितमध्ये ५८ प्रतिशतले कसैसँग सहयोग नमागेको र न्यायका लागि पहलसमेत नगरेको तथ्यले समस्या गम्भीर रहेको उनको भनाइ थियो।

मन्त्री बादीले लैङ्गिक हिंसाले महिलाको शिक्षा, रोजगारी, उत्पादकत्व र आम्दानीमा प्रत्यक्ष असर पार्ने बताइन्। हिंसापीडितले उपचार, कानुनी प्रक्रिया र मनोसामाजिक परामर्शका लागि समेत आर्थिक भार बेहोर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन्।

उनका अनुसार सरकारले लैङ्गिक हिंसाविरुद्ध राष्ट्रिय कार्ययोजना तयार गरी पीडितको उद्धार, संरक्षण र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिरहेको छ। निःशुल्क कानुनी सहायता, सुरक्षित आवास गृह तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत सेवा विस्तार गर्ने काम भइरहेको उनले जानकारी दिइन्।

हिंसामुक्त र आर्थिक रूपमा सबल समाज निर्माणका लागि लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले तीनै तहका सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताइन्।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले लैङ्गिक हिंसा न्यूनीकरण तथा अन्त्यका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन्।

उनले हिंसापीडित महिलालाई निःशुल्क कानुनी सहायता, सुरक्षित आवास, मनोसामाजिक परामर्श, पुनःस्थापना र आर्थिक सशक्तीकरणका अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिइन्। साथै, लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

 

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com