काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टीभित्र समानान्तर गतिविधि गरिरहेको शेरबहादुर देउवा पक्षप्रति कडा रूपमा प्रस्तुत भएका छन्। उनले देउवा पक्षको महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई पार्टी विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन्।

थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीको गतिविधिमा सहभागी हुने छुट कसैलाई नरहेको भन्दै त्यस्ता जनप्रतिनिधिलाई निर्वाचित पदबाट राजीनामा दिन आग्रह गरेका छन्। राजीनामा नदिए विधानअनुसार कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ।

देउवा पक्षले भने पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफ्नो महाधिवेशन अभियान नरोकिने जनाएको छ। उक्त समूहले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ। महाधिवेशन तयारी समितिको संयोजकमा डा. शशांक कोइराला रहेका छन्।

यसैबीच, निर्वाचन आयोगले गगन थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक गरिसकेको छ। आयोगको यो निर्णयपछि देउवा पक्षको महाधिवेशनको राजनीतिक तथा कानुनी वैधताबारे थप प्रश्न उठेको छ।

देउवा पक्षले भने आफूहरू नै आधिकारिक कांग्रेस रहेको दाबी गर्दै आएको छ। सर्वोच्च अदालतमा आधिकारिकतासम्बन्धी विवाद विचाराधीन रहेकाले अन्तिम निर्णय अदालतबाटै हुने दुवै पक्षको भनाइ छ।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com