काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स प्रालि आर्थिक वर्ष २०८१/८२ मा ललितपुर आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।
आन्तरिक राजस्व कार्यालय ललितपुर–१ का प्रमुख कर अधिकृत शिवकुमार राईले सानेपास्थित चौधरी ग्रुपको मुख्यालयमा आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरेका हुन्।
सम्मान ग्रहण गर्दै चौधरीले यसलाई कम्पनीको व्यावसायिक उत्तरदायित्व र मुलुकको आर्थिक विकासप्रतिको प्रतिबद्धताको कदरका रूपमा लिएको बताए।
उनले करलाई राष्ट्र निर्माणको महत्वपूर्ण आधार भन्दै व्यवसायको सफलता नाफा र विस्तारमा मात्र सीमित नभई राज्यप्रतिको दायित्व इमानदारीपूर्वक पूरा गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे। प्राप्त सम्मानले कम्पनीलाई थप जिम्मेवार र उत्तरदायी भएर अघि बढ्न प्रेरित गरेको उनको भनाइ थियो।
सीजी मोटर्सले नेपालमा विद्युतीयसहित विभिन्न प्रकारका सवारीसाधनको बिक्री, वितरण तथा बजारीकरण गर्दै आएको छ। कम्पनीले अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डका सवारीसाधन नेपाली बजारमा भित्र्याउँदै आएको छ।
यसअघि राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंसिर १ गते चौधरी ग्रुपकै अर्को कम्पनी सीजी इम्पेक्स नेपालमा वस्तु व्यापार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको थियो।
त्यस्तै, निर्वाण चौधरी अध्यक्ष रहेको नबिल बैंक पनि बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको थियो।
चौधरी ग्रुप नेपालका प्रमुख व्यावसायिक घरानामध्ये एक हो। ग्रुपले उद्योग, बैंकिङ, व्यापार, अटोमोबाइललगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया