काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा अनुसन्धानका लागि पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।
प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भारतको कलकत्ताबाट पक्राउ गरी नेपाल ल्याइँदै छ। यद्यपि, पक्राउको स्थानबारे प्रहरीले आधिकारिक विवरण सार्वजनिक गरेको छैन।
अर्यालविरुद्ध मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको थियो।
मुख्यसचिव बन्नुअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहेका अर्यालमाथि सोही अवधिमा भएका निर्णय प्रक्रियामा संलग्नताको आरोपमा अनुसन्धान भइरहेको छ।
अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए। उनले करिब १५ महिना जिम्मेवारी सम्हालेपछि २०८२ मंसिरमा उमेर हदका कारण अवकाश पाएका थिए।
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गर्ने प्रणालीलाई निरन्तरता दिएको आरोपमा भइरहेको अनुसन्धानमा पूर्वमन्त्रीदेखि उच्च प्रशासनिक अधिकारीसम्म तानिएका छन्।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया