काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित वास्तविक सुकुम्बासीको समस्या बलपूर्वक हटाएर मात्र समाधान नहुने बताएका छन्। उनले सहरभित्रै सम्मानजनक आवासको व्यवस्था गरेर उनीहरूको दीर्घकालीन पुनःस्थापना गर्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले विस्थापित परिवारको बसोबासको व्यवस्था सात महिना बितिसक्दा पनि टुंगोमा पुग्न नसक्नु दुःखद भएको बताएका छन्।
‘फोहोर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक–सामाजिक र मानवीय समस्या कहिल्यै हल हुनै सक्दैन,’ उनले लेखेका छन्।
ग्रामीण अर्थतन्त्र कमजोर हुँदै जाँदा वैकल्पिक रोजगारीको खोजीमा सहर पस्ने श्रमिकहरू नै आवासविहीन बन्ने गरेको उनको भनाइ छ। सहरमा सरसफाइ, घरेलु श्रम, हेरचाह र ढुवानीलगायतका काममार्फत उनीहरूले सहरी अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको उनले उल्लेख गरेका छन्।
भट्टराईले सुकुम्बासी समस्या कुनै एक देश वा सहरमा मात्र सीमित नभई तीव्र सहरीकरणसँगै विभिन्न मुलुकमा देखिने ऐतिहासिक समस्या भएको बताएका छन्। त्यसैले यसको समाधान कानुनी, न्यायपूर्ण र मानवीय दृष्टिकोणबाट खोज्नुपर्ने उनको धारणा छ।
‘सुकुम्बासी समस्यालाई सहरीकरणको क्रममा उत्पन्न हुने अनिवार्य ऐतिहासिक प्रक्रिया मानेर सहरभित्रै गरिबहरूलाई सम्मानजनक आवासको व्यवस्था गरी दिगो रूपमा समाधान गरौँ,’ उनले लेखेका छन्। यस्तो व्यवस्था नेपालको संविधान र समावेशी लोकतन्त्रको मर्मअनुरूप हुने पनि उनले बताएका छन्।
गत वैशाख १२ गते काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरा हटाउने क्रममा सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थियो। तर, सात महिना बितिसक्दा पनि विस्थापित परिवारले स्थायी आवास पाउन सकेका छैनन्।
हाल भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको अस्थायी आश्रयस्थलमा विस्थापित परिवार बस्दै आएका छन्। जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो २ बजेसम्म उक्त केन्द्र खाली गर्न उनीहरूलाई समयसीमा दिएको छ।
आश्रयस्थलमा रहेका १९ परिवारका ५९ जनामध्ये सात परिवारलाई भूमि समस्या समाधान समितिले भूमिहीनको सूचीमा समावेश गरेको छैन भने १२ परिवारलाई भूमिहीन ठहर गरेको छ।
प्रशासनले भूमिहीन ठहर भएका परिवारलाई व्यवस्थापन खर्च र एक महिनाको घरभाडा उपलब्ध गराएर आश्रयस्थल खाली गर्न भनेको छ। भूमिहीनको सूचीमा नपरेका परिवारलाई भने कुनै सुविधा नदिई केन्द्र छाड्न भनिएको छ।
स्थायी आवासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलसमेत खाली गर्न दबाब दिइएपछि विस्थापित परिवारले निर्णय फिर्ता लिन र वैकल्पिक आवास सुनिश्चित गर्न माग गर्दै आएका छन्।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार
















प्रतिक्रिया