काठमाडौं । अस्ट्रेलियाको मेलबर्नस्थित तीन ठूला अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीको गोप्य भिडियो खिचेको आरोपमा एक कनिष्ठ चिकित्सक पक्राउ परेका छन्। रयान चो नामका ती चिकित्सकले सन् २०२४ देखि २०२५ सम्म ८७१ महिलाको गोप्य भिडियो खिचेको खुलेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार चोले अस्पतालमा कार्यरत महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई निशाना बनाएका थिए। उनले मोबाइल फोनलाई जालीको झोलाभित्र लुकाएर अस्पतालका शौचालय तथा स्नानकक्षमा राखी गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेको अदालतमा खुलासा भएको छ।
अदालतमा प्रस्तुत विवरणअनुसार चोले ८७१ महिलासहित कुल ८७४ जनाको गोप्य भिडियो खिचेको स्वीकार गरेका छन्। प्रहरीले उनको विद्युतीय उपकरणबाट करिब तीन हजार भिडियो फेला पारेको थियो। तीमध्ये दुई बालिकाको भिडियोसमेत रहेको अदालतमा बताइएको छ।
घटनाबाट प्रभावित महिलाहरूले अदालतमा आफ्नो पीडा र मानसिक तनावबारे बयान दिएका छन्। उनीहरूले कार्यस्थलमै असुरक्षित महसुस गर्नुपरेको अनुभवसमेत सुनाएका छन्।
गोप्य भिडियो खिच्नेलगायतका कसुर स्वीकार गरेका चोलाई नोभेम्बर २६ मा मेलबर्नको अदालतमा सजायपूर्वको सुनुवाइ सकिएपछि हिरासतमा पठाइएको हो।
उनलाई सन् २०२७ फेब्रुअरी १२ मा सजाय सुनाइने तयारी गरिएको छ।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार
















प्रतिक्रिया